होस्टेलमा छात्राहरूलाई कुरान पढाइराखेको अवस्थामा ललितपुरबाट पक्राउ परे तीन इण्डोनेशियाली महिला

होस्टेलमा छात्राहरूलाई कुरान पढाइराखेको अवस्थामा ललितपुरबाट पक्राउ परे तीन इण्डोनेशियाली महिला

काठमाडौं : भिसाको उद्देश्य विपरीत नेपालमा बसेर शङ्कास्पद गतिविधि गर्दै आएका तीन इण्डोनेशियाली नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ।

सन् २०२४ मा अध्ययन भिसा लिएर नेपाल आएकी एक महिलाले ललितपुरको धोबिघाटस्थित हिमालय शिक्षा तथा हितेशी समाजमार्फत गर्ल्स होस्टेल सञ्चालन गर्दै टर्कीस भाषा र कुरान पढाउने, साथै मुस्लिम धर्म प्रचारप्रसार गर्ने गतिविधि गर्दै आएकी थिइन्। सोही संस्थामा अन्य दुई इण्डोनेशियालीलाई शिक्षकको रूपमा राखिएको अध्यागमन विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अनुसन्धानका क्रममा उनीहरूले करिब ५० जना छात्रालाई कुरान पढाउँदै आएको र ललितपुरकै ज्वागलमा ब्वाइज होस्टेलमार्फत विभिन्न जिल्लाका युवाहरूसमेत धर्म प्रचारमा संलग्न गराएको पाइएको विभागले जनाएको छ। सो कार्यका लागि टर्कीको ‘साहा एजिटम कल्चर वे दुस्तुलुक देर्नेगी, साहा इन्टरनेशनल र बेलायतस्थित एक धर्म प्रचारक संस्थाबाट वार्षिक करिब २ करोड ५० लाख रुपैयाँ नेपाल पठाइने गरेको प्रारम्भिक तथ्याङ्कमा देखिएको छ।

इण्डोनेशियाका ती महिलामध्ये एकले पर्यटक भिसा र अन्य दुईले अध्ययन भिसा लिएका छन् । उक्त होस्टेलमा करिब ५० जना छात्राहरूलाई कुरान पढाइराखेको अवस्थामा अध्यागमन विभागका निर्देशकसमेतको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। ‘उनीहरू अन्य शैक्षिक संस्थामा अध्ययन गरेको देखिएन। उनीहरूले ललितपुरकै ज्वागलमा समेत ब्वाइज होस्टेलसमेत राखी विभिन्न जिल्लाका व्यक्तिहरूलाई कुरान पढाउने एवं धर्मको प्रचारप्रसार गरेको भन्ने जानकारी भएकोले थप अनुसन्धान गर्ने क्रममा रहेको छ,’ अध्यागमन स्रोतले भन्यो। 

 नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले काम गर्ने भए ‘वर्किङ भिसा’ लिएको हुनुपर्छ। अध्यागमन विभागले उनीहरूको भिसा अध्ययन र पर्यटन प्रयोजनका लागि भए पनि नेपालमा रोजगारी तथा धार्मिक गतिविधिमा संलग्न भएको ठहर गर्दै थप अनुसन्धान अघि बढाएको छ।

विभागका अनुसार भिसाको उद्देश्य विपरित बसाइ वा शंकास्पद क्रियाकलापमा संलग्न विदेशीलाई अध्यागमन ऐनअनुसार जरिवाना र निष्कासन गर्ने कानुनी व्यवस्था छ।

भदौ ५, २०८२ बिहीबार १७:०७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।