
अमेरिका जाँदा चाखेको फल नेपाल ल्याए, अनि सुरू भयो बाँझो पाखोमा ‘ड्रागन फ्रुट’ खेती

पोखरा : झन्डै साढे तीन दशक सरकारी सेवामा काम गरेर सेवानिवृत्त भएका भित्रलाल त्रिपाठी यतिबेला व्यवसायिक ड्रागन फ्रुटखेतीमा सक्रिय छन्। संघीय सडक तथा सुपरिवेक्षण अनुगमन कार्यालयबाट सेवामुक्त भएपछि उनले सेवानिवृत्त जीवनलाई सक्रिय बनाउन पोखरा महानगरपालिका-२५ हेमजाको फुर्केटारीस्थित वर्षौंदेखि बाँझिएको भिरालो जमिनमा ड्रागन फ्रुटखेती थाले।
त्रिपाठीले अमेरिका, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया, ताइवान र भारतको तामिलनाडु लगायतका देशबाट ल्याइएका ९० भन्दा बढी प्रजातिका ड्रागन विरुवाहरू रोपेका छन्, जसले अहिले उत्पादन दिन थालेका छन्।
अमेरिका पारिवारिक भ्रमणमा जाँदा ड्रागन फ्रुटको स्वाद चाखेर ल्याएको एउटा बिरुवाबाट खेती सुरु भएको उनले बताए। ‘त्यो गमलामा रोपिएको बिरुवाले राम्रो फल दिएपछि बाँझिएको जमिनमा व्यावसायिक खेती गर्ने प्रेरणा मिल्यो,’ उनले सम्झिए।
व्यावसायिक फर्म दर्ता
समुद्री सतहदेखि ११०० मिटर उचाइमा फैलिएको १० रोपनी जमिनमा करिब २ हजार बिरुवा लगाएका त्रिपाठीले २०८० वैशाख १२ गते फुर्केटारी एग्रो (ड्रागन फ्रुटस) फर्म दर्ता गरी औपचारिक रूपमा व्यवसाय सुरु गरे। पहिलो वर्षदेखि नै उत्पादन दिन थालेको उनले बताए।
यो वर्ष राम्रो फल आएको र आफैं खाने, इष्टमित्रलाई चखाउने मात्र नभई दुई लाख रुपैयाँभन्दा बढी मूल्यका फल बिक्री गरेको उनको भनाइ छ। प्रतिकेजी ५०० मा बिक्री हुने फल फर्ममै आएर ग्राहकले आफैं टिप्ने र तौल गरेर लैजाने प्रचलन छ।
त्रिपाठीका अनुसार फर्मबाट पोखरासँगै मुलुकका विभिन्न शहरमा मात्र नभई अमेरिका र भारतसम्म पनि फल पठाइएको छ। खेती सुरु गर्नु अघि उनले करिब १,६०० अमेरिकी डलर तिरेर भियतनामको एक फर्ममा एक हप्ते तालिमसमेत लिएका थिए।
उत्पादन र बजार
‘ड्रागन फ्रुट बिक्री हुँदैनकी भन्ने चिन्ता गर्नुपरेको छैन। पारखीहरू फर्ममै आउनुहुन्छ। बजारको मागअनुसार फल पुर्याउनै नसकेको अवस्था छ,’ उनले भने। अधिकतम एक दिनमा ६० किलोसम्म उत्पादन हुने गरेको छ। ड्रागन फ्रुट रोपेको पहिलो वर्षमै फल दिन थाल्छ र लगातार २० वर्षसम्म फल दिन सक्छ।
त्रिपाठीले अहिलेसम्म फर्ममा करिब ५० लाख रुपैयाँ खर्च गरेको बताए। आर्थिक वर्ष २०८१/०८२ मा कास्की कृषि ज्ञान केन्द्रबाट करिब ४ लाख ७६ हजार ९८५ रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोग पाएको समेत जानकारी दिए।
फलामे ट्रष्टसहित पक्कि पिलरमा निर्माण गरिएको फर्ममा अहिले लटरम्म फल झुण्डिएका छन्। हिउँदमा असिना पर्न सक्ने भएकाले फल जोगाउन उनले जाली राख्ने फ्रेमसमेत तयार पारेका छन्।
केही महिनाअघि दुई वटा बाँदर फर्ममा पसेका थिए। तर काँडेदार ड्रागन बोटका कारण फल खान सकेनन्। यसै कारण उनले बाँदरको आतंकले बाँझो जमिन छोड्न बाध्य हुने किसानका लागि ड्रागन खेती उपयुक्त हुने सुझाव दिए।
फर्ममा फल मात्र होइन, विरुवा पनि बिक्री भइरहेको छ। एउटा विरुवाको मूल्य रु २०० देखि १ हजारसम्म पर्छ। फुर्केटारी फर्मका विरुवा नेपालका विभिन्न स्थानसँगै भारतको दार्जिलिङसम्म पुगेका छन्। विरुवा बिक्रीबाट पनि उल्लेख्य आम्दानी भएको छ।
फर्ममा उत्पादित फलको तौल ४०० ग्रामदेखि १ किलो ३२ ग्रामसम्म हुने गरेको छ। हालसम्म दैनिक दुईदेखि पाँच जनाले रोजगारी पाएका छन्। त्रिपाठी भन्छन्, ‘सरकारी सेवाबाट निवृत्त भएपछि समय अनावश्यक खर्च गर्नुको साटो कृषिमा लाग्दा धेरै खुशी लागेको छ।’
किसानहरू ड्रागन खेतीतर्फ आकर्षित
पोखरा-२५ का वडाअध्यक्ष मोतिलाल तिमिल्सिनाले हेमजा क्षेत्र आलु गाउँका रूपमा परिचित भए पनि पछिल्लो समय किसानहरू ड्रागन खेतीतर्फ आकर्षित भएको बताए। फुर्केटारी एग्रो फर्मले उत्पादनसँगै गुणस्तरलाई प्राथमिकता दिँदै आएको कारण क्षेत्र ड्रागन खेतीका लागि चिनिन थालेको उनको भनाइ छ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले स्थलगत अध्ययनपछि फुर्केटारीमा उत्पादित फल विशेष स्वादिलो रहेको बताए। उनका अनुसार मुलुकभर ड्रागन खेती विस्तार भइरहेको भए पनि यहाँको फलको स्वाद फरक छ।
नरम प्रकृतिको ड्रागन फल बालबालिका र ज्येष्ठ नागरिक दुवैले मन पराउने गर्छन्। यसमा पानी, प्रोटिन, खरानी, चिल्लो पदार्थ, रेसा, क्यारोटिन, क्याल्सियम फोसफोरस, फलाम, भिटामिन वान, भिटामिन बिटु, भिटामिन बिथ्री, भिटामिन सी, थायमिन र नियसिनलगायतका पौष्टिक तत्व पाइन्छन्।
भदौ ५, २०८२ बिहीबार १६:२६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।