भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौता आपत्तिजनक छ, अस्विकार्य छ : गगन थापा

भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौता आपत्तिजनक छ, अस्विकार्य छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौताका विरुद्ध सबै राजनीतिक दलहरू एक भएर उभिनुपर्ने बताए।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आ-आफ्ना मत-मतान्तर भएपनि भारत र चीनले गरेको सहमतीप्रति घरेलु राजनीतिकको विषय नबनाई एकै ठाउँमा उभिन आग्रह गरे।

उनले भने, ‘यो विषयमा नेपालमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ। हिजोपनि उभिएका थियौ आज पनि उभिनुपर्छ। म नेपाली कांग्रेस पार्टीको तर्फबाट आग्रह गर्न चाहन्छु,’सांसद थापाले भने, ‘हाम्रा आफ्ना मतमतान्तर आफ्ना ठाउँमा छन्। प्रतिस्पर्धा आफ्ना ठाउँमा छन्। हामी कसैले पनि यस विषयलाई घरेलु राजनीतिकको विषय नबनाऔँ।’

उनले दुई छिमेकीहरूले गरेको सम्झौताप्रति नेपाली कांग्रेस असहमत रहेको भन्दै त्यसप्रति आपत्तिजनक रहेको पनि बताए।

‘हाम्रा दुई छिमेकीहरू भारत र चीनले भूमिको बारेमा हाम्रो अनुपस्थितीमा एउटा निर्णय गरेछ। सम्झौता गरेको पढ्यौ, सुन्यौ। कांग्रेस पार्टीको दुई छिमेकीहरूको व्यवहारप्रति असहमती छ। यो आपत्तिजनक छ। अस्विकार्य छ,’उनले भने । 

थापाले नेपाल सरकारले यस सन्दर्भमा लिएको पहलकदमीले सबैलाई समेटेर अगाडि बढाउनुपर्ने पनि बताए।

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन-भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुने थापाको जोड छ।

भदौ ५, २०८२ बिहीबार १५:१२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।