सरकारले राम्रो काम गरेको छैन, ढङ्ग पुर्‍याएको छैन, ठीक मति राखेको छैन, तर विकल्प पनि छैन : गगन थापा

सरकारले राम्रो काम गरेको छैन, ढङ्ग पुर्‍याएको छैन, ठीक मति राखेको छैन, तर विकल्प पनि छैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई एउटै गाडीका दुई ड्राइभर भन्दै सावधानीपूर्वक सरकार सञ्चालन गर्न सुझाएका छन्।

बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्दै थापाले सत्तारुढ नेतृत्वलाई दुर्घटनामुक्त ढंगले देशको गाडी अघि बढाउन आग्रह गरे। उनले देशलाई एउटै यात्रामा बाँधिएको गाडीको उपमा दिँदै भने, ‘स्टेरिङ समाउने नेताहरूले ठिक गतिमा चलाउनुपर्छ, अलमल र ढलमल हुने अवस्था आउनुहुँदैन।’

थापाले गाडी बाहिरबाट ढुंगा हान्ने र हिलो छ्याप्नेहरूलाई रोक्ने जिम्मा आफूहरू लिने बताए तर स्टेरिङ समाएका नेताले भने गलत दिशा नलिनुपर्ने बताए। ‘कहिले घ्याच्च रोकिएको, कहिले भिरतिर उक्लिएको जस्तो देखिन्छ। मसँग स्टेरिङ छ भन्दै जताततै मोडिदिनु उचित होइन,’ उनले असन्तुष्टि व्यक्त गरे।

महामन्त्री थापाले अझै समय र अवसर बाँकी भएकाले दुई शीर्ष नेताले जिम्मेवार ढंगले काम गर्ने हो भने राजनीतिक स्थिरता सम्भव हुने सुझाव पनि दिए। ‘सरकारले राम्रो काम गरेको छैन, ढङ्ग पुर्याएको छैन, ठीक मति राखेको छैन, तर विकल्प पनि छैन,’ उनले भने। 

थापाले सीमा विवादजस्तो संवेदनशील विषयलाई दलगत राजनीति र उग्रराष्ट्रवादतर्फ नपुर्याउन आग्रह गरे।

प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै थापाले भारत र चीन दुवैलाई एउटै सन्देश पठाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘हामी कोही पनि यो विषयलाई घरेलु राजनीतिको विषय नबनाऔं। उग्रराष्ट्रवादी हुनेतर्फ पनि हामी नलागौं। यो विषयमा भारत र चीन दुवैलाई नेपाली राजनीतिक दलहरूले एउटै सन्देश दिनुपर्छ। हाम्रो भूमिमाथि आँखा लगाउनु कुरा हामी कसैलाई पनि स्वीकार्य छैन।’ 

थापाले नेपालको भूमिमाथि आक्रमण वा अतिक्रमण गर्ने प्रयासलाई नेपालले दृढतापूर्वक प्रतिवाद गर्ने बताए । उनले सीमा जस्तो राष्ट्रिय स्वाधीनतासँग जोडिएको मुद्दामा दलहरू एकजुट हुनुपर्नेमा बताए।

भदौ ५, २०८२ बिहीबार १५:०१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।