
अन्तत: चिनियाँ नागरिक ह्वाङ पिङले छोडे राजमार्गको बीचमा रहेको घर

एजेन्सी : चीनको जिन्सी जिल्लामा एक परिवारले सरकारले दिएको करोडौंको क्षतिपूर्ति अस्वीकार गर्दा उनीहरुको घर विशाल राजमार्गको बीचमा एक्लो रहन पुग्यो।
प्रतिरोधको प्रतीक बनेको र ‘आइ अफ जिन्सी’उपनाम पाएको यो घरमा अब बस्न असम्भव भएपछि अन्ततः परिवारले यसलाई छाड्न बाध्य भएको छ। चीन सरकारले नयाँ राजमार्ग निर्माण गर्ने क्रममा स्थानीय बासिन्दाहरूको जग्गा अधिग्रहण गरिरहेको थियो।
घरधनी ह्वाङ पिङको परिवारलाई क्षेत्रीय सरकारले करिब १६ लाख युआन क्षतिपूर्ति दिने प्रस्ताव गरेको थियो। तर, ह्वाङले उक्त रकम दुई किस्तामा दिइने शर्तलाई अन्यायपूर्ण भन्दै प्रस्ताव अस्वीकार गरे।
छिमेकका सबैले घर छाडेर गए पनि ह्वाङको परिवार आफ्नो घरमा बसिरह्यो। फलस्वरूप, सरकारले घरलाई नभत्काई त्यसको वरिपरिबाट राजमार्ग निर्माण गर्यो।
राजमार्ग तयार भएपछि माथिबाट हेर्दा यो घर कालोपत्रे सडकको बीचमा रहेको आँखाजस्तै देखिन्थ्यो, जसकारण यसको नाम ‘आइ अफ जिन्सी’ रहन गयो।
अप्रिल महिनामा यो घरको तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भाइरल भएको थियो र यसलाई आफ्नो सम्पत्ति नछोड्नेहरूको दृढताको प्रतीक मानिएको थियो। चीनमा विकास निर्माणका लागि हट्न नमान्ने यस्ता घरहरूलाई ‘नेल हाउस’ भन्ने गरिन्छ।
जब राजमार्गमा गाडी गुड्न थाले, ह्वाङ परिवारको जीवन नरक बन्न पुग्यो। घरमा ध्वनि प्रदूषण रोक्न कुनै व्यवस्था थिएन। केही मिटरकै दूरीबाट रातदिन गुड्ने ट्रक र अन्य भारी सवारी साधनको कोलाहल र कम्पनले परिवारलाई मानसिक तनाव दियो।
अन्ततः, बस्न असम्भव भएपछि परिवारले हार मान्यो। चिनियाँ सञ्चारमाध्यमका अनुसार, ह्वाङ र उनको परिवारले राजमार्गको कोलाहल र असुरक्षाबाट बच्न नजिकैको अर्को सहरमा भाडामा घर लिएर बस्न थालेका छन्।
सुरूमा गरिएको सम्झौता अस्वीकार गरेर पछि घर छाड्दा ह्वाङ परिवारले ठूलो आर्थिक क्षति बेहोर्नुपर्यो। सरकारले सुरूमा प्रस्ताव गरेको १६ लाख युआनको म्याद सकिइसकेको थियो।
त्यसैले, पछि घर छाड्दा उनीहरूले पहिले प्रस्ताव गरिएको भन्दा निकै कम रकम मात्र पाए। यद्यपि, कति रकम दिइयो भन्नेबारे स्थानीय अधिकारीहरूले केही खुलाएका छैनन्।
चीनमा सार्वजनिक निर्माणका लागि जग्गा अधिग्रहण गर्दा स्थानीयलाई उचित बजार मूल्य अनुसार क्षतिपूर्ति दिनुपर्ने कानुनी व्यवस्था छ। तर, सम्पत्तिको मूल्यांकन, भुक्तानीको तरिका र वार्ताको छोटो समयजस्ता विषयमा विवाद हुँदा यस्ता ‘नेल हाउस’ का घटनाहरू बारम्बार देखिने गरेका छन्।
भदौ ५, २०८२ बिहीबार १३:४३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।