
नेपाली आईटी कम्पनी ब्रोडवे इन्फोसिसलाई विट्साको प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट अवार्ड’

काठमाडौं : व्यावसायिक आईटी तालिम प्रदायक नेपाली कम्पनी ब्रोडवे इन्फोसिस प्रालिले वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्सद्वारा प्रदान गरिने प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट अवार्ड’ जितेको छ।
ताइवानको ताइपेईमा आयोजित ‘विट्सा ग्लोबल एआई समिट २०२५’ अन्तर्गत मंगलबार सम्पन्न एक विशेष समारोहमा ब्रोडवेलाई उक्त अवार्ड प्रदान गरिएको हो।
विट्साका अनुसार, व्यावसायिक आईटी तालिममार्फत नेपालमा दक्ष जनशक्ति उत्पादन तथा डिजिटल रूपान्तरणमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै ब्रोडवेलाई यो अवार्ड प्रदान गरिएको हो।
समारोहमा कम्पनीका तर्फबाट निर्देशकहरू हरिकृष्ण अधिकारी र उत्तम अधिकारीले अवार्ड ग्रहण गरे। यो सम्मानले नेपालको समग्र आईटी क्षेत्रमा परेको सकारात्मक प्रभावलाई प्रमाणित गरेको कम्पनीले जनाएको छ।
विट्सा विश्वका ८० भन्दा बढी देशका सूचना प्रविधि संघसंस्थाहरूको छाता संगठन हो, जसमा नेपालबाट कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ सदस्य छ।
‘एआई सेपिङ द डिजिटल वर्ल्ड’ थिममा आयोजित यस समिटमा ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ सहित विभिन्न १३ विधामा अवार्ड प्रदान गरिएको थियो, जसका लागि विश्वभरबाट सयौँ कम्पनीले प्रतिस्पर्धा गरेका थिए।
भदौ ५, २०८२ बिहीबार १३:२०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।