
युक्रेनी सैन्य केन्द्रहरूमा रुसको आक्रमण, १३०० भन्दा बढी सैनिक मारिएको दाबी

काठमाडौं : रुसले युक्रेनी सैन्य केन्द्रहरूमा गरेको आक्रमणमा १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी गरेको छ।
रुसी रक्षा मन्त्रालयले जारी गरेको एक प्रतिवेदनअनुसार, पछिल्लो २४ घण्टामा रुसी सेनाले खार्कोभ, जापोरिजिया र खेरसनमा रहेका सैन्य केन्द्रहरूमा आक्रमण गरेको हो।
आक्रमणबाट ट्याङ्क, बख्तरबन्द गाडी, रकेट लन्चर, विद्युतीय युद्ध प्रणाली, गोलाबारुद भण्डार लगायतका सैन्य लक्ष्यहरू नष्ट गरिएको रिपोर्टमा उल्लेख छ।
साथै, रुसी वायु रक्षा प्रणालीले एक रकेट र २१७ वटा ड्रोन खसालेको पनि दाबी गरिएको छ।
यता, युक्रेनी सशस्त्र बलले भने रुसको दाबीलाई खण्डन गर्दै आफ्नोतर्फबाट पनि जवाफी कारबाही गरिएको जनाएको छ। युक्रेनी सेनाका अनुसार अग्रमोर्चामा भएका १७५ भिडन्तमा करिब ८९० रुसी सैनिक हताहत भएका छन्।
युक्रेनी वायुसेना, मिसाइल युनिट र तोपखानाले पनि रुसी सैन्य निशानाहरूलाई सफलतापूर्वक नष्ट गरेको बताइएको छ। युक्रेनले कुपियान्स्क र तोरेत्स्क क्षेत्रमा भएका कैयौँ रुसी आक्रमणलाई विफल पारेको पनि दाबी गरेको छ।
भदौ ५, २०८२ बिहीबार १२:४९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।