
नेपालमा पहिलो पटक महिला प्रहरी सम्मेलन

काठमाडौं : देशभरबाट २०० महिला प्रहरीको सहभागितामा नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरू भएको छ। शुक्रबारसम्म चल्ने सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ।
सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले यसले सरकारलाई मार्गदर्शक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले महिला प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरिरहेको बताउँदै प्रहरीमा महिलाको सहभागिता २० प्रतिशत पुर्याउन सरकार प्रतिबद्ध रहेको बताए।
‘अब आरक्षण २० प्रतिशत मात्र होइन, प्रहरीमा महिलाको उपस्थिति नै २० प्रतिशत पुर्याउनुपर्छ’, उनले भने।
गृहमन्त्री लेखकले महिलालाई समानता, सशक्तिकरण र सम्भावनाको अवसर (तीन ‘स’) दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले प्रहरी न्यायको पहिलो ढोका भएको बताइन्। उनले भीभीआईपी सुरक्षा जस्ता महत्त्वपूर्ण जिम्मेवारीमा महिला प्रहरीलाई अवसर दिन नेतृत्वलाई आग्रह गरिन्।
हाल प्रहरीमा महिलाको सहभागिता १२.४१ प्रतिशत पुग्नु गर्वको विषय भएको उनको भनाइ थियो।
महान्यायाधिवक्ता रमेश बडालले सम्मेलनको निष्कर्ष राज्यका लागि महत्त्वपूर्ण सुझाव हुने बताए। उनले कानुनी र व्यवहारिक गाँठो फुकाउन सम्मेलनले ठोस सुझाव दिने अपेक्षा गरे।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीका अनुसार सम्मेलनमा १० वटा कार्यपत्रमाथि छलफल हुनेछ। महिला प्रहरीको भूमिका, अवसर, चुनौती, स्वास्थ्य र साइबर सुरक्षा जस्ता विषयमा छलफलपछि घोषणापत्र जारी गरिनेछ।
भदौ ५, २०८२ बिहीबार १२:१३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।