
धादिङमा भारतीय ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, पाँच जना घाइते

धादिङ : धादिङको धुनिवेशी नगरपालिका-७, घट्टामोडस्थित त्रिभुवन राजपथमा भारतीय ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार सोमबार दिउँसो करिब १:३० बजे चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ध २ प ३१४६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको यूपी५१ सीटी २६०१ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो।
ठक्करपछि अनियन्त्रित भएको ट्रक सडकबाट करिब २०-२५ मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक म्याग्दीको मंगला गाउँपालिका-५ निवासी ५० वर्षीय वीरबहादुर विकको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा दिउँसो ३:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २० वर्षीया अनिता विक गम्भीर घाइते भएकी छन्। उनको दाँत भाँचिएको छ भने अनुहार र शरीरको भित्री भागमा चोट लागेको छ। उनलाई थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ।
यस्तै, ट्रक चालक भारतको खरिन्दाबाद निवासी २५ वर्षीय ईर्साद आलम, सहचालकहरू २० वर्षीय जाबिद अन्सारी, २४ वर्षीय उस्मान अन्सरी र २२ वर्षीय ओस्लिम आलम घाइते भएका छन्।
घाइतेमध्ये ट्रक चालक ईर्साद आलम, जाबिद अन्सारी र उस्मान अन्सरीलाई उपचारपछि अस्पतालले डिस्चार्ज गरेको छ। प्रहरीले ट्रक चालक आलमलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, खानीखोलामा राखेको छ। अर्का घाइते ओस्लिम आलमको पनि ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
भदौ ५, २०८२ बिहीबार १०:१०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।