
एससीटी-युनियनपे कार्डबाट अब मोबाइल वालेटमा सिधै रकम लोड गर्न सकिने

काठमाडौं : अब एससीटी-युनियनपे कार्ड प्रयोगकर्ताहरूले विभिन्न मोबाइल वालेटमा सिधै रकम लोड गर्न सक्ने भएका छन्।
स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) ले यो नयाँ सुविधा सुरु गरेसँगै इसेवा, खल्ती, हाम्रो पे जस्ता लोकप्रिय वालेटमा कार्डबाटै पैसा जम्मा गर्न सकिने भएको हो।
यो नयाँ सुविधाले कार्डको प्रयोगलाई पीओएस मेसिनमा मात्र सीमित नराखी डिजिटल भुक्तानीको दायरा फराकिलो बनाएको छ।
अब कार्ड प्रयोगकर्ताले आफ्नो वालेटमा रकम लोड गरी अनलाइन सामान खरिद, बिल भुक्तानी, हवाई टिकट खरिद जस्ता विभिन्न डिजिटल कारोबार सहजै गर्न सक्नेछन्।
नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) मा आबद्ध सबै वालेट तथा मर्चेन्टहरूमा यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) ले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी-युनियनपे कार्ड जारी गर्दै आएको छ। इच्छुक ग्राहकले यी सदस्य संस्थाहरूबाट सजिलै कार्ड प्राप्त गर्न सक्नेछन्।
भदौ ५, २०८२ बिहीबार ०९:४५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।