
सामाजिक सञ्जालमा ‘दयालु न्यायाधीश’ नामले चर्चित फ्रान्क क्याप्रियोको निधन

एजेन्सी : सामाजिक सञ्जालमा ‘दयालु न्यायाधीश’ को रूपमा विश्वभर परिचित अमेरिकाका फ्रान्क क्याप्रियोको ८८ वर्षको उमेरमा निधन भएको छ।
प्यान्क्रियाटिक क्यान्सरसँग लामो संघर्षपछि बुधबार उनको निधन भएको परिवारले पुष्टि गरेको छ। ‘कट इन प्रोभिडेन्स’ नामक अदालती कार्यक्रममार्फत उनी चर्चित थिए।
आफ्नो अदालतमा सामान्य मुद्दाहरूलाई पनि दया, करुणा र हास्यको भावनाले हेर्ने उनको शैलीका कारण उनी अरू न्यायाधीशभन्दा फरक थिए। उनका भिडियो क्लिपहरू सामाजिक सञ्जालमा अर्बौं पटक हेरिएका छन्।
विशेषगरी, बालबालिकालाई इजलासमा बोलाएर आफ्ना अभिभावकको मुद्दामा राय लिनु, छोरा गुमाएकी एक महिलाको ४०० डलर जरिवाना मिनाहा गरिदिनु जस्ता उनका निर्णयहरूले लाखौंको मन जितेको थियो।
उनले आफ्नो प्रसिद्धिलाई न्यायिक प्रणालीमा सबैको समान पहुँच हुनुपर्ने जस्ता मुद्दा उठाउन पनि प्रयोग गरे।
रोड आइल्याण्डका गभर्नर ड्यान म्याकीले उनलाई ‘अदालतमा सहानुभूतिको प्रतीक’ भन्दै श्रद्धाञ्जली दिएका छन्।
क्याप्रियोले प्रोभिडेन्स म्युनिसिपल कोर्टमा लगभग चार दशक सेवा गरी सन् २०२३ मा सेवानिवृत्त भएका थिए। उनले आफ्नो काममार्फत न्याय प्रणालीलाई दमनकारी नभई मानवीय र दयालु बनाउन सकिन्छ भन्ने सन्देश दिए।
भदौ ५, २०८२ बिहीबार ०९:१९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।