चहलको ‘सुगर ड्याडी’ टिसर्ट विवादमा धनश्रीको पहिलो प्रतिक्रिया- ‘ह्वाट्सएप गरिदिएको भए हुन्थ्यो, डिभोर्सको फैसलापछि भक्कानिएर रोएँ’

चहलको ‘सुगर ड्याडी’ टिसर्ट विवादमा धनश्रीको पहिलो प्रतिक्रिया- ‘ह्वाट्सएप गरिदिएको भए हुन्थ्यो, डिभोर्सको फैसलापछि भक्कानिएर रोएँ’

एजेन्सी : डान्सर तथा कोरियोग्राफर धनश्री वर्मा त्यतिबेला सबैभन्दा बढी चर्चामा आइन्, जब क्रिकेटर युजवेन्द्र चहलले सम्बन्धविच्छेदको सुनुवाइको दिन ‘बी योर ओन सुगर ड्याडी’ (आफ्नो सुगर ड्याडी आफै बन) लेखिएको टिसर्ट लगाए।

लामो समयको मौनतापछि धनश्रीले पहिलो पटक यो विवादमा आफ्नो भनाइ राखेकी छन्। उनले भनेकी छन्, ‘यदि युजवेन्द्रले मलाई अन्तिम सन्देश दिन चाहन्थे भने टिसर्टमा लेख्नुको साटो ह्वाट्सएप पनि गर्न सक्थे।’

‘ह्युमन्स अफ बम्बे’लाई दिएको एक अन्तर्वार्तामा धनश्रीले युजवेन्द्रसँगको सम्बन्ध विच्छेदबारे कुरा गर्दै भनिन्, ‘हामीले यो कहिल्यै बिर्सनु हुँदैन कि यसमा हामी दुई जना मात्र होइन, दुई परिवार पनि जोडिएका हुन्छन्। हामीलाई माया गर्ने सबै दुःखी हुन्छन्। यो कुनै उत्सव होइन। हामी आफ्नो लडाइँ लड्छौँ, अनि मिडियामा सर्कस सुरू हुन्छ।’

‘मलाई लाग्छ कि हामी यसबारे धेरै परिपक्व हुनुपर्छ। मैले अपरिपक्व बयान दिनुको सट्टा परिपक्व रहन रोजेँ, किनकि म आफ्नो र उनको (युजवेन्द्र) पारिवारिक मूल्यमान्यतामा आँच पुऱ्याउन चाहन्नथेँ।’

‘जब कुनै विवाह टुट्छ, यसको मतलब कसैको अपमान गर्नु हुँदैन,’ धनश्रीले अगाडि थपिन्, ‘जुन दिन यो घटना भयो, त्यो मेरो र मेरो परिवारका लागि निकै भावुक थियो।’

‘म त्यहाँ उभिइरहेकी थिएँ र फैसला आउन लागेको थियो, हामी सबै मानसिक रूपमा तयार थियौँ, तर जब फैसला आयो, म भक्कानिएर रुन थालेँ। म कस्तो महसुस गरिरहेकी छु भनेर बताउन पनि सकिरहेकी थिइनँ। म केवल रोइरहेकी थिएँ।’

टिसर्ट विवादबारे के भनिन्?
टिसर्ट विवादबारे उनले भनिन्, ‘उनी (युजवेन्द्र) हामीभन्दा पहिले निस्किए, त्यसपछि त्यो टिसर्ट, मिडिया र अन्य सबै कुरा भयो। मलाई यसबारे केही थाहा थिएन किनभने म भित्रै थिएँ। जब म बाहिर निस्किएर कारमा बसेँ, म पछाडिको बाटोबाट बाहिर आएकी थिएँ।’

आफ्नो जीवनमा सामान्य रुपले अगाडि बढ्ने प्रयास गरिरहेको बेला टिसर्टबारे थाहा पाएको उनले बताइन्।

‘मैले फोन हेरेँ र सोचेँ- के साँच्चै उसले यस्तो गर्यो?’ दिमागमा एकै सेकेन्डमा लाखौं कुरा खेले। त्यो क्षण मैले सोचेँ, ‘ल, अब सबथोक सकियो। अब म किन रुने?’

एक पोडकास्टमा युजवेन्द्रले उक्त टिसर्टमार्फत अन्तिम सन्देश दिन चाहेको बताएको प्रसङ्गमा धनश्रीले जवाफ दिइन्, ‘दाइ, ह्वाट्सएप गरिदिएको भए भइहाल्थ्यो नि! टिसर्ट किन लगाउनुपर्यो? त्यसका लागि त एउटा टिसर्ट पनि काफी छैन।’

भदौ ४, २०८२ बुधबार २१:५४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।