२०१२ मा विद्यार्थी भिसामा अमेरिका : १० वर्षसम्म अवैध बसोबास, उत्तर कोरियालाई हतियार पठाएपछि आठ वर्ष कैद सजाय

२०१२ मा विद्यार्थी भिसामा अमेरिका : १० वर्षसम्म अवैध बसोबास, उत्तर कोरियालाई हतियार पठाएपछि आठ वर्ष कैद सजाय

एजेन्सी : अमेरिकी न्याय विभागले उत्तर कोरियाका लागि हतियार तथा सैन्य सामग्रीको तस्करी गर्न खोजेको आरोपमा एक चिनियाँ नागरिकलाई आठ वर्षको कैद सजाय सुनाएको छ।

विभागका अनुसार, ४२ वर्षीय शेङ्गुआ वेनलाई उत्तर कोरियाली अधिकारीहरूबाट करिब २० लाख अमेरिकी डलर प्राप्त भएको थियो, जसको प्रयोग क्यालिफोर्नियाबाट हतियार र सैन्य सामान पठाउनका लागि गरिने थियो।

क्यालिफोर्नियाको ओन्टारियो शहरमा बस्दै आएका वेनलाई डिसेम्बर २०२३ मा पक्राउ गरिएको थियो। उनले जुन २०२४ मा अमेरिकी कानून उल्लङ्घन गर्ने र विदेशी सरकारको अवैध एजेन्ट बनेर काम गर्ने षड्यन्त्र गरेको आरोप स्वीकार गरेका थिए।

न्याय विभागले जनाएअनुसार वेन सन् २०१२ मा विद्यार्थी भिसामा अमेरिका आएका थिए, तर सन् २०१३ मा भिसाको म्याद सकिएपछि पनि उनी अवैध रूपमा बस्दै आएका थिए।

विभागका अनुसार, अमेरिका आउनुअघि वेनले चीनमा रहेको उत्तर कोरियाली दूतावासमा त्यहाँका अधिकारीहरूसँग भेट गरेका थिए। ती अधिकारीहरूले उनलाई उत्तर कोरियाका लागि सामान जुटाउन निर्देशन दिएका थिए।

सन् २०२२ मा दुई उत्तर कोरियाली अधिकारीहरूले अनलाइन मेसेजिङ प्लेटफर्ममार्फत वेनसँग सम्पर्क गरी उनलाई अमेरिकाबाट हतियार र अन्य सैन्य सामग्री तस्करी गर्न निर्देशन दिएको पनि विभागले खुलासा गरेको छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रतिबन्धअनुसार उत्तर कोरियालाई हतियार र सैन्य उपकरण दिन वा पठाउन पाइँदैन। यसका साथै, उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक मिसाइल कार्यक्रमका कारण अमेरिकाले पनि उसमाथि छुट्टै कडा प्रतिबन्धहरू लगाएको छ।

भदौ ४, २०८२ बुधबार २१:४३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।