
गौर हत्याकाण्डमा पूर्वाग्रही छानबिन भए प्रतिवाद गर्ने संघीय लोकतान्त्रिक मोर्चाको चेतावनी

काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले गौर हत्याकाण्डको छानबिन निष्पक्ष र सबै पक्षलाई समेट्ने गरी हुनुपर्नेमा जोड दिएको छ।
सर्वोच्च अदालतले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि अनुसन्धान गर्न परमादेश जारी गरेपछि बसेको मोर्चाको बैठकले छानबिन एकपक्षीय र पूर्वाग्रही भएमा त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको हो।
बुधबार जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘छानबिन वा अनुसन्धान सफा नियत, तटस्थता, कानूनसम्मत र सम्बन्धित सबैलाई दायरामा ल्याएर गरिन्छ भने यस्तो छानबिनप्रति कसैको आपत्ति हुने कुरै भएन।’
तर, मोर्चाले हाल भइरहेका प्रचार-प्रसार राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको आरोप लगाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘जसरी एकपक्षीय र पूर्वाग्रहले प्रेरित भई तथ्यलाई तोडफोड गरी प्रचारित गर्ने, व्यक्ति केन्द्रित दुष्प्रचार चलाउने खेलहरु भइरहेका छन्, त्यसले राजनीतिक प्रतिशोधको मानसिकता स्पष्टसँग छर्लङ्ग भएको छ।’
मोर्चाले २०६३ सालमा भएको उक्त घटनापछि सरकारद्वारा गठित न्यायाधीश हरिप्रसाद घिमिरे र न्यायाधीश खिलराज रेग्मी नेतृत्वका छानबिन आयोगका प्रतिवेदनहरू अझैसम्म सार्वजनिक नगरिएकोतर्फ पनि ध्यानाकर्षण गराएको छ।
साथै, राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा घटनाको अवस्था, हिंसात्मक प्रहारको सुरुवातकर्ता र सुरक्षा निकायको हेलचेक्र्याइँ जस्ता तथ्य उल्लेख भएको भन्दै मोर्चाले यिनै तथ्यमा आधारित निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेको छ।
मोर्चाले चेतावनी दिँदै भनेको छ, ‘एकपक्षीय, राजनीतिक प्रतिशोधी, पूर्वाग्रही र विभेदी मानसिकताले गरिने कुनै पनि कारबाहीको सशक्त प्रतिकार हुनेछ।’
यसैबीच, मोर्चाको बैठकले रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई दिने निर्णय गरेको छ। निर्वाचनको प्रचारप्रसार तथा परिचालनको जिम्मा भने मोर्चाको सचिवालयलाई दिइएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ।
गौर घटनाबारे उकेराको विशेष रिपोर्ट
भदौ ४, २०८२ बुधबार २१:०९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।