
नख्खु कारागारमा प्रचण्ड-रवि भेट : कांग्रेस-एमालेले खुट्टामा बञ्चरो हानेको तर्क, भैरहवा कारागार ‘गोलघर’ जस्तो रहेको गुनासो

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।
बुधबार साँझ ललितपुरस्थित नख्खु कारागार पुगेर प्रचण्डले लामिछानेसँग समसामयिक राजनीतिक परिस्थिति र उनको मुद्दाबारे छलफल गरेका हुन्।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले लामिछानेको स्वास्थ्य अवस्था, कारागारको बसाइ र राजनीतिक दृष्टिकोणबारे जानकारी दिए। उनका अनुसार लामिछाने पहिलेभन्दा दुब्लाएका छन्।
भैरहवामा ‘गोलघर’ जस्तो, नख्खुमा सहज
भेटमा लामिछानेले रुपन्देहीको भैरहवा कारागारको तुलनामा नख्खु कारागारको व्यवस्थापन र बसाइ निकै सहज भएको बताएका थिए।
लामिछानेलाई भेटेर फर्केपछि प्रचण्डले भने, ‘भैरहवा कारागारको भन्दा यहाँ धेरै राम्रो सेवा सुविधा छ भनेर उहाँले भन्नुभयो। उहाँको भाषामा भन्ने हो भने भैरहवा बस्दाको स्थिति धेरै जटिल थियो, झन्डै झन्डै गोलघरजस्तै गरी राखियो भन्ने थियो।’
लामिछानेले नख्खुमा खानपिन र बसाइ तुलनात्मक रूपमा राम्रो भएको बताएको प्रचण्डले जानकारी दिए। प्रचण्डले आफू भैरहवा नै गएर भेट्न चाहे पनि समय अभावका कारण सम्भव नभएको बताए।
‘मलाई लखेटियो, तर यसले पार्टीलाई फाइदा भयो’
भेटघाटका क्रममा लामिछानेले आफूमाथि सत्ता गठबन्धनले विभेद गरेको गुनासो गरेका थिए।
‘मेरै जस्तो मुद्दामा अरूले उन्मुक्ति पाउने, मेरोभन्दा गम्भीर केस भएकालाई उन्मुक्ति दिइयो, मलाई मात्रै लखेटियो,’ लामिछानेको भनाइबारे प्रचण्डले भने, ‘अदालतले नै तोकेको बिगो बराबर धरौटी राखेर मुद्दा लड्छु भन्दाभन्दा पनि मैले सुविधा पाइनँ। सरकार र यो गठबन्धनले मसँग अनुदार भएर विभेद किन गर्यो मैले बुझ्न सकेको छैन भन्ने उहाँको धारणा थियो।’
लामिछानेले आफूलाई हिरासतमा राखेर कांग्रेस र एमालेले ‘आफ्नै खुट्टामा बञ्चरो हानेको’ टिप्पणी गरेको प्रचण्डले सुनाए।
प्रचण्डले भने, ‘उहाँलाई राजनीतिक रूपले कांग्रेस र एमालेले जसरी व्यवहार गरेको देखिएको छ, त्यसले उहाँ र उहाँको पार्टीलाई देशभरि फाइदा भएको छ भन्ने राम्ररी बुझ्नु भएको रहेछ।’
उपसभामुख इन्दिरा रानामाथि अन्याय भयो: प्रचण्ड
प्रचण्डले भेटमा उपसभामुख इन्दिरा रानाको विषयमा पनि कुरा भएको बताए। उनले रानामगरमाथि सत्ता गठबन्धनले गरेको व्यवहारलाई ‘ठूलो अन्याय’ र ‘निरंकुशतातर्फको यात्रा’ को संज्ञा दिए।
‘उपसभामुखलाई हटाउने र झम्टने काम यो गठबन्धनले गरेको छ। त्यो विचरा इन्दिरा, आदिवासी जनजाति महिला, सामाजिक सेवामा समर्पित भएर राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्व बनाएको मान्छे हो,’ प्रचण्डले भने, ‘सानो टेक्निकल विषयमा जे भएको छ, गलत भएको छ। यो इन्दिरामाथिको होइन, संविधान, लोकतन्त्र र सिस्टममाथिको प्रहार हो।’
प्रचण्डले ‘इन्दिरालाई देखाएर संवैधानिक निकाय कब्जा गर्ने डिजाइन’ अन्तर्गत यो कदम चालिएको आरोप लगाए।
उनले थपे, ‘जनता कांग्रेस र एमाले विरोधी भइसके। उहाँहरू सत्तामा बस्दासम्म अन्धो मान्छे जस्तो हुनुहुन्छ।’
आफू प्रधानमन्त्री हुँदा लामिछाने दुई पटक गृहमन्त्री भएको स्मरण गर्दै प्रचण्डले ‘अभिभावकको हिसाबले’ भेट्न गएको बताए। प्रचण्डले लामिछानेमाथिको विभेद कम होस् र सहज वातावरण बनोस् भन्ने आफ्नो चाहना रहेको स्पष्ट पारे।
भदौ ४, २०८२ बुधबार २०:४४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।