
‘मेरो छोरी मार्नेलाई सजाय भएन भने अब म फाँसी लगाएर मर्छु’

काठमाडौं : २०८१ फागुन अन्तिम साता रौतहटको जिगढुवाकी रोकया खातुन ज्वरोले थलिएर बसेकी थिइन्। आर्थिक अवस्था कमजोर रहेको खातुन परिवारमा अहिले कान्छी छोरी मात्रै छिन्। कान्छी छोरीको श्रीमान् पनि बितिसकेका छन्। अहिले आमा छोरी मात्रै।
उनको छोरी थिइन् प्रतिमा खातुन। २०६३ चैत्र ७ मा रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र माओवादीबीच भएको झडपमा उनी मारिइन्। अनि छोरी मारिएको पिरले उनको श्रीमान् पनि बिते।
कक्षा ५ सम्म मात्रै पढेकी प्रतिमाको विवाह भइसकेको थियो। परिवारमा झगडा परेपछि उनको विवाह टुट्यो। १८ वर्ष मात्रै लागेको प्रतिमा सम्बन्ध विच्छेदपछि माओवादीमा लागिन्।
‘प्रतिमाको विवाह भइसकेको थियो। पछि सम्बन्ध बिग्रियो। अनि माओवादीमा लागि। मरेर गई’ छोरी सम्झँदै उनले भनिन्।
प्रतिमा पार्टीमा छापामार थिइन्। माओवादी शान्ति प्रक्रियामा आएपछि बारा उनको कार्यक्षेत्र तोकियो। रौतहटमा पार्टीले कार्यक्रम राखेपछि उनीसहितलाई बोलाएर अघिल्लो दिन नै चन्द्रनिगाहपुर, जंगलटोलमा रहेको क्याम्पमा राखियो।भोलीपल्ट पार्टीको निर्देशनमा शक्ति प्रदर्शन गर्न गौरमा जाँदा फोरमका समर्थकले लखेटी लखेटी २९ जनासँगै उनको पनि हत्या गरे।
छोरी क्याम्पमा भएकाले त्यो बेलामा उनी कता गइन् परिवारलाई थाहा हुने कुरै भएन। घटना भएको साँझ गाउँबाट गएका माओवादी कार्यकर्ताहरूले प्रतिमा पनि परेको बताएपछि उनी छोरीको पिरले मुर्छा परिन्।
कर्फ्यु लागेकाले तत्कालै गौर जाने अवस्था भएन। छोरीको शव काठमाडौं लगेको थाहा पाएपछि उनीहरू काठमाडौं नै आए। तर काठमाडौं आउँदा छोरीको शव पार्टीले सद्गत गरिसकेको थियो।
गौर हत्याकाण्डपछि बलात्कार गरेर हत्या गरेको हल्ला भए पनि राष्ट्र संघीय मानव अधिकार सम्बन्धी उच्चायोगको अनुगमन प्रतिवेदनमा कसैको बलात्कार नभएको उल्लेख छ। तर गाउँमा प्रतिमाको बलात्कार गरेर मारेको हल्ला फैलियो। हैन भनेर कसैले भनिदिएनन्। अनि छोरीकै पिरले आफ्नो बुढाको मृत्यु भएको रोकयाले उकेरासँग भनिन्।
‘गाउँमा तेरो छोरीलाई बलात्कार गरेर मार्यो भने। बढी नै दुख दिएर मारे भनेर बुढा पिरमा परे। प्रचण्डले राइस मिलको बदला लिन्छु भनेका थिए। तर उ नै राजा भयो। के बदला लिन्थ्यो र। उसको बुवा छोरीकै पिरले मरे’ उनले भनिन्।
‘मेरो छोरी मार्नेलाई अब कारबाही भएन भने त मँ फाँसी लगाएर मर्छु’ आक्रोशित हुँदै रोकयाले भनिन्।
साढे १८ वर्ष भयो घटना भएको। प्रहरीले जाहेरी लिए पनि अनुसन्धान गरेन। बल्ल सर्वोच्च अदालतले अनुसन्धान अगाडि बढाउन सरकारको नाममा आदेश दिएको छ। अब चैँ अनुसन्धान हुन्छ कि भन्ने आशमा छिन् उनी अन्य पीडित परिवार जस्तै।
०००
गौरमा राजनीतिक प्रतिस्पर्धाले निम्तिएको झडपमा मारिएका २९ जनामध्येकै हुन् रौतहट सरमुजुवा वडा नम्बर ८ का नरमधेश्वर उपाध्याय। उनी माओवादी नेता प्रभु साहको क्षेत्रका माओवादी कार्यकर्ता मात्रै थिए। उनी सशस्त्र द्वन्द्वमा संलग्न थिएनन्।
घटनाको दिन गाउँका माओवादी कार्यकर्ताहरू गौर जाने भए। नरमधेश्वर पनि कार्यक्रममा जाने भए। उनकी श्रीमती रुपसा उपाध्यायले कार्यक्रममा नजान भनिन्। तर उनले मानेनन्। अन्तमा उनी फर्किएर आउन सकेनन्। उनको हत्या भयो।
‘घरबाट कार्यक्रममा जान्छु भनेर जानुभएको थियो। मैले धेरै प्रयास गरे तर रोक्न सकिन। उता गएपछि मधेसी जनअधिकार फोरमसँग झगडा भएछ। त्यही मारिनु भयो’ श्रीमान् सम्झँदै उनले भनिन्।
उनले घटनाबारे रेडियोबाट थाहा पाइन्। श्रीमान् परे कि परेनन् थाहा भएन। विरोध प्रदर्शनमा गाउँबाट गएका माओवादीहरूले नै श्रीमान् मारिएको जानकारी दिए उनलाई।
कता जाने भन्ने मेसो नै पाइनन्। घटनाको भोलिपल्ट दाइसँग काठमाडौँ आइन्। नभन्दै उनको श्रीमान् झडपमा मारिएका रहेछन्।
गौर घटनामा मारिएकाका पीडित परिवारलाई सरकारले १० लाख दिने घोषणा गरेको थियो। तर उनले अहिलेसम्म जम्मा १ लाख मात्र पाएकी रहिछिन्। नौ लाख कसले लियो उनलाई थाहा छैन।
‘पहिलो पटक पैसा आएको रहेछ। मलाई कसैले जानकारी दिएनन्। दोस्रो पटकमा १ लाख पाएँ। तेस्रो पटक पनि पैसा आएको भए मलाई जानकारी छैन। कसैले खाए होलान्’ उनले भनिन्।
श्रीमान् नै मारिएपछि उनले छोरा पठाउन भएको सम्पत्ति बेचिन्। अर्को उपाय थिएन। उनी श्रीमानको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै काठमाडौं पनि आइन्। तर कसैले सुनुवाइ गरेनन्। अब अदालतले नै बोलेकाले छानबिन हुन्छ कि भन्ने आस पलाएको छ उनमा।
‘यो घटनामा प्रभु साह होस् या उपेन्द्र यादव होस् जो दोषी भए पनि कारबाही गर्नु पर्यो,’ उनले भनिन् ‘मलाई अदालतबाट न्याय चाहियो।’
०००
उच्च मावि जुडिवेलामा कक्षा ८ मा पढ्दै गरेकी रेखा परियार घर अगाडि रहेको कृषि समूह प्राथमिक विद्यालयका शिक्षक भुवन चौलागाईसँग सम्पर्कमा आइन्। भुवन तत्कालीन समय माओवादी जिल्ला नेता थिए।
उनका बुवा रामबहादुर परियारका अनुसार १७ वर्ष मात्रै लागेकी रेखा माओवादीमा संलग्न भएको ४ वर्षपछि मात्र परिवारले थाहा पाए।
उनी चन्द्रनिगाहपुर जंगलटोलमा रहेको माओवादी क्याम्पमा बस्दै आएकी थिइन्। घटनाको दिन रेखाको घरमा मकै गोड्नु पर्ने थियो। उनले आफ्ना साथीहरू लगाएर मकै गोडेपछि गौरमा हुने कार्यक्रममा निस्किएकी उनकी आमा दालचिनी परियारले सुनाइन्।
‘त्यो दिन मकै गोड्नु थियो। १६,१७ जना साथीहरू ल्याएर मकै गोडी। मैले नजा छोरी भन्दा औँला ठड्याउँदै मैले केही गर्नुपर्छ आमा भनेकी थिई’ रुँदै परियार दम्पतीले भने।
माओवादीसँगको सङ्गत छुटाउन हर सम्भव कोसिस गरे पनि नसकिएको दुवै बताउँछन्। चन्द्रनिगाहपुरमा रहेको क्याम्पमा मानव अधिकार आयोगको टोलीसँगै पुगे। ३ पटक त घरमा ल्याएका रहेछन्। तर रेखाले माओवादी पार्टी छाड्न मान्दै मानिनन्। अन्तमा गौरको भिडन्तमा मारिइन्।
बिहान छोरी गएपछि परियार दम्पती ज्यालादारी काम गर्न गए। ३ बजेतिर गौरमा भिडन्त भएको हल्ला गाउँमा आयो। अनि छोरी खोज्न थाले। पछि मारिएकाहरू भनेर छोरीको नाम रेडियोमै आयो। अनि उनीहरू छोरीको शव बुझ्न काठमाडौं आए।
‘हामी नर्सरीमा बिरुवा हेर्ने काम गर्दै थियौँ। ३ बजेतिर गौरमा यस्तो घटना भयो भन्ने थाहा भयो। मनमा चिसो पस्यो,’ ७० कटेका रामबहादुरले रुँदै उकेरासँग भने ‘उनीहरूलाई हेलिकप्टरमा हालेर काठमाडौं लगेछन्। हामी बसबाट काठमाडौँ गयौँ।’
उनले पनि छोरीको बलात्कारपछि मारेको सुनेका रहेछन्। घाटीमा चोट रहेको उनले सुनाए।
‘अपराधीलाई जसरी पनि कारबाही हुनुपर्छ। त्यो दिन दुनियाँका छोरा छोरी लगे’ रामबहादुरले भने।
०००
काभ्रेमा बस्दा माओवादीमा छोरा लाग्ने डरले पाण्डे परिवारले छोरा दीपक पाण्डेलाई रौतहटमा रहेको काकाको घरमा राखेर पढाउँदै थिए। तर उनीहरूले रोक्न सकेनन्। कान्छो छोरा रहेका दीपक घटना हुनुभन्दा ८ महिना अघि मात्रै माओवादीमा गएको आमा भवानी पाण्डेले बताइन्।
‘छोराहरूलाई माओवादीले लग्छ भन्ने डरले हामी बुढाबुढी काभ्रेमा थियौँ। उनीहरूलाई रौतहट ल्याएर पढाएका थियौँ। उ माओवादीमा लागेको ८ महिना मात्रै भएको थियो। माओवादीमा लागेर मारिगयो नि’ उनले भनिन्।
१९ वर्षका दीपक ११ कक्षामा पढ्दै थिए। घटनाको दिन क्याम्पमै रहेको बेला घरका परिवारलाई जानकारी नै नदिई उनी गौर गएका थिए। जब उनी मारिए बुवा आमा काभ्रेमै थिए। तर पाण्डे परिवारले दीपको शव पनि हेर्न पाएनछन्।
‘हामी काभ्रेमा थियौँ। क्याम्पमा बस्ने भएकोले उतै होला भन्ने भयो। मारिएको ५ दिनपछि मात्रै थाहा पायौँ। लास समेत हेर्न पाएनौँ’ उनले भनिन्।
छोरालाई फर्काउन सकिन्न भन्ने पाण्डे परिवारलाई थाहा छ। कलिलैमा मारिएको छोराको हत्यामा जो संलग्न हो उसले सजाय पाएको सुन्न पाए पनि मन हलुका हुने बताइन् भवानीले।
गौर घटनाबारे उकेराको विशेष रिपोर्ट
भदौ ४, २०८२ बुधबार १८:५८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।