आयल निगमले ६ अर्ब खर्च गरेर रुपन्देहीमा नयाँ डिपो बनाउँदै

आयल निगमले ६ अर्ब खर्च गरेर रुपन्देहीमा नयाँ डिपो बनाउँदै

काठमाडौँ : रुपन्देहीको रोहिणी नदी किनारमा करिब छ अर्ब लागतमा आधुनिक नयाँ इन्धन डिपो बन्ने भएको छ। अहिले भलबारीमा रहेको डिपो साँघुरो, घना बस्तीको बिचमा रहेको र पेट्रोलियम पदार्थको माग धान्न नसक्ने भन्दै नेपाल आयल निगमले करिब साढे २५ बिघा क्षेत्रफलमा नयाँ डिपो बनाउन लागेको हो।

पाँच अर्ब ७९ करोड ३० लाख लागतमा बनाउने तयारी गरेको डिपोको विस्तृत परियोजना प्रतिवेदन समेत तयार भइसकेको छ।

नयाँ डिपोमा १८ हजार छ सय ८८ किलोलिटर इन्धन भण्डारण गर्न ट्याङ्क निर्माण गरिने निगमका भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीपकुमार यादवले बताए।

परियोजनामा डिजेल भण्डारण गर्न १३ हजार पाँच सय किलोलिटर, पेट्रोलका लागि चार हजार नौ सय ६० किलोलिटर र मट्टितेलका लागि दुई सय २८ किलोलिटर क्षमताका भण्डारण ट्याङ्क निर्माण गरिने योजना रहेको छ।

पूर्ण रूपले अटोमेसनमा आधारित डिपोमा भण्डारण गृह, पेट्रोलियम पदार्थको प्रवाह तथा फायर फाइटिङ प्रणालीको पाइपिङ निर्माण, विद्युतीय कार्य, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, बिलिङ तथा स्टोर भवन, कार्यालय प्रमुख तथा कर्मचारी आवास गृहलगायत संरचना निर्माण गरिने निगमले जानकारी दियो।

यसका लागि असोजमा बोलपत्र आह्वान गर्ने र मङ्सिरबाट बनाउन सुरु गरिने निगमले जनाएको छ। डिपो बनाउन सुरु भएको तीन वर्षमा सक्काउने लक्ष्य राखिएको छ। 

भदौ ४, २०८२ बुधबार १७:५५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।