लाज ढाक्न सरकारले नक्कली योग्यताको प्रमाणपत्रको तथ्य लुकायो, खराब आचरण देखाएर बीमाका अध्यक्ष पदमुक्त

काठमाडौं : नक्कली योग्यताको प्रमाण पत्रको आधारमा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका शरद ओझालाई सरकारले खराब आचरण प्रदर्शन गरेको आरोपमा पदमुक्त गरेको खुलेको छ। ओझाले प्राधिकरणको अध्यक्षको योग्यता पुर्याउन नक्कली अनुभवको प्रमाण पत्र बनाएको खुलेपछि सरकारले छानबिन गर्न समिति नै गठन गरेको थियो।
नक्कली योग्यताको प्रमाण पत्रको आधारमा नियुक्त गरेको स्विकार्दा सिफारिस गर्ने अर्थ मन्त्रालयका अधिकारी र निर्णय गर्ने मन्त्रिपरिषद्को क्षमता माथि नै प्रश्न उठ्ने भएपछि सरकारले खराब आचरण प्रदर्शन गरेको, कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको आरोपमा सञ्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने निर्णय गरेको हो।
ओझाले पेस गरेको योग्यताको प्रमाण पत्रहरूमध्ये चाणक्य मिडियाको व्यवस्थापनमा काम गरेको अनुभव पत्र समेत पेस गरेका थिए। तर सूचना विभागको तथ्याङ्कमा उनी व्यवस्थापनतिर भन्दा पनि समाचार सङ्कलनतिर रहेको खुलेको थियो।
उनले पेस गरेका अन्य अनुभवको पत्रहरू समेत शङ्कास्पद देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएपछि सरकारले छानबिन गर्न समिति गठन गरेको थियो। समितिको प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन। बुधवार सार्वजनिक निर्णयमा सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गर्दा आधारमा नक्कली योग्यताको प्रमाण बनाएर सरकारलाई गुमराहमा राखेको उल्लेख छैन।
भदौ ४, २०८२ बुधबार १७:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।