सम्पदा बनिसकेको चोडेको ‘मानन्धर तेल मिल’लाई डेनमार्कको तोरीको भर

सम्पदा बनिसकेको चोडेको ‘मानन्धर तेल मिल’लाई डेनमार्कको तोरीको भर

भक्तपुर : मौलिक स्वरूपमा रहेका एक सय वर्षभन्दा पुराना जुनसुकै संरचना पुरातात्त्विक महत्त्वको हुन्छ। तिनलाई संरचना मात्र होइन, सम्पदा मानिन्छ। जसको रेखदेख, संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरिन्छ।

यसैगरी पुस्तान्तरण हुँदै आएको उद्यम हो, मध्यपुर थिमिको चोडे टोलमा रहेको रत्नकाजी मानन्धरको ‘मानन्धर तेल मिल’। यदि उद्यमलाई पनि संरचना जस्तै मान्ने हो भने मानन्धर तेल मिल आफैंमा सम्पदा हो। ५५ वर्षीय रत्नकाजीको मिलमा ६ शताब्दिअघिको मल्लकालीन इतिहास प्रतिविम्बित भएको पाइन्छ।

मल्लकालमा जयस्थिति मल्लका पालामा कामको आधारमा जात व्यवस्था लागू भयो। त्यही क्रममा कोल (पेलेर तेल निकाल्ने काठले बनेको यन्त्र) भएकाहरूलाई समि/सायमि भनियो। नेपाल भाषामा ‘स:’ भन्नाले कोल र ‘मि’ भन्नाले मालिक वा धनी भन्ने अर्थ लाग्छ।

मानन्धर समुदायको मूल पेशा खाने तेल उत्पादन गर्नु हो। अनि मानन्धरहरूलाई नै नेपाल भाषामा ‘समि’ वा ‘सायमि’ भनियो।

तोरी भुट्ने तयारी।रत्नकाजी मानन्धरका पुर्खाले जयस्थिति मल्लकै पालादेखि तोरीको तेल उत्पादनको काम शुरु गरे। जसलाई आजको दिनसम्म पनि उनले निरन्तरता दिइरहेका छन्।

उनले उद्यम मात्र होइन, विधिलाई पनि निरन्तरता दिइरहेका छन्। रत्नकाजीको तेल मिलमा विशेषगरी भुटेको तोरीको तेल किन्ने ग्राहक धेरै आउँछन्। बजारमा विभिन्न आधुनिक प्रविधि आए पनि भुटेको तेल बनाउन बाबुबाजेले सिकाएको शिल्प नै उनले पछ्याइरहेका छन्।

तोरी भुट्दै।पाकेपछि घाममा सुकाइएको तोरी राम्ररी केलाएर सफा गर्दै भुटेको तेल बनाउने क्रम शुरु हुन्छ। यसपछि अन्न कुट्ने साधनको सहायताले मसिनो पारेर मध्यम तापमा फलामको तावामा पानी छर्केर भुट्न थालिन्छ। “तेलको स्वाद राम्रो बनाउन हल्का खैरो रंगको भएसम्म भुट्नुपर्छ।

पिना बनाउन तयार भएको भुटेको तोरी।भुटेको तोरीलाई परम्परागत कोलमा राखेर मानिसले घुमाएर पेलिन्छ”, मानन्धरले तेल उत्पादनको विधि बताए, “अनि दबाब परेपछि तोरीबाट तेल निस्कन थाल्छ। त्यसलाई सङ्कलन गर्न भाँडो राखिएको हुन्छ। धेरै पुरानो भएकोले कोलबाट ६० प्रतिशत मात्र तेल निस्कन्छ। पेलिएको बाँकी तोरिलाई पुनः विद्युतीय मेसिनमा हालेर बाँकी तेल निकालिन्छ।”

तोरीलाई पेल्नु अगाडि पिना बनाउँदै।तोरी पेलेपछि निस्कने पिना पशु आहार वा जैविक मलको रूपमा प्रयोग गरिन्छ।

डेनमार्कसम्मबाट आउँछ तोरी

रत्नकाजीले नेपालीसँगै अस्ट्रेलियादेखि युक्रेन, फ्रान्स र डेनमार्कसम्मको तोरी प्रयोग गर्छन्। उनका अनुसार नेपाली तोरी प्रतिकिलो ९० देखि १२० रुपैयाँ पर्छ भने विदेशी तोरी प्रतिकिलो ११५ देखि १४० रुपैयाँ पर्छ।

उनको अनुभवमा नेपाली तोरीबाट उत्पादित तेल र विदेशी तोरीबाट उत्पादित तेलको स्वादै फरक हुन्छ।

तेल निकाल्ने तयारी।काठमाडौं उपत्यकामा बढ्दो शहरीकरणले तोरी उत्पादन हुने जमिन मासिए पनि दाप्चा, चापागाउँ, बालकोट र थेचो जस्ता ठाउँहरूबाट तोरी संकलन गर्छन् उनी। उपत्यका बाहिर तराई क्षेत्रबाट पनि उनीकहाँ तोरी आउने गर्छ।

तेल निकाल्न तयार भएको पिना पिट्दै।यो मिलबाट मासिक करिब ६ सय लिटर भुटेको तोरीको तेल उत्पादन तथा बिक्री हुन्छ। चाडपर्व तथा जाडो महिनामा यो आकडा करिब नौ सय लिटर प्रतिमहिना पुग्छ। यो भनेको प्रतिमहिना २२ सयदेखि तीन हजार किलोसम्म तोरी खपत हो।

तेल पिन्न कोलमा हालिँदै। भुटेको तोरीको तेल होलसेलमा ३५० रुपैयाँ प्रतिलिटर र खुद्रामा ३७० रुपैयाँ प्रतिलिटरमा बिक्री गरिरहेका छन्।

आफूले उत्पादन गरेको तेल प्राकृतिक रूपमा प्रशोधित, शुद्ध र स्वास्थ्यवर्द्धक हुने तथा यस्तो तेलमा मौलिक स्वाद र वास्तविक सुगन्ध पाइने उनी दाबी गर्छन्।

६ शताब्दिको गाथा आफूमै सकिने भय

तोरी पेलेर निकालिएको तेल।कुनै समय थियो, चोडे टोलमा रत्नकाजीको बाहेक पनि १० वटा तेल मिल थियो। तर बिस्तारै ठूला उद्योगबाट उत्पादित तेलले यस्ता परम्परागत मिलको बजार खोस्दै गयो। अहिले चोडे टोलमा रत्नकाजीको तेल मिल मात्रै सञ्चालनमा छ।

तयारी अवस्थाको तेल विक्रीका लागि बोतलमा राख्दै।हुन त यो काममा रत्नकाजीलाई अहिले छोराले पनि सघाइरहेका छन्। तर छोराले यो पेशालाई निरन्तरता दिन्छन् भन्नेमा चाहिँ रत्नकाजी ढुक्क छैनन्। “यो व्यवसायमा छोराको पनि सहयोग छ, तर निरन्तरता दिने सम्भावना कम छ”, रत्नकाजी भन्छन्, “जहिलेसम्म सक्छु परम्परालाई बचाइराख्छु।”

भदौ ४, २०८२ बुधबार १६:२२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।