टप एन्ड सिरिजमा नेपालको दोस्रो जित, सोमपालले लिए पाँच विकेट

काठमाडौं : अष्ट्रेलियामा जारी टप एन्ड सिरिजमा नेपालले दोस्रो जित निकालेको छ। डार्विनमा जारी सिरिजमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो।
१४० रनको लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०६ रनमा मात्र समेटियो।
उसका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाउँदा जय लेमिरले १८, ह्यारी डिक्सनले १६ रन जोडे।
बलिङमा नेपालका सोमपाल कामीले पाँच विकेट लिँदा कुशल भुर्तेलले दुई तथा साहब आलम र रुपेश सिंहले समान एक-एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाली टोलीले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो।
नेपालका लागि कुशल मल्लले २२ बलमा २९, दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७, लोकश बमले १६ बलमा २४ रन बनाउँदा भिम सार्कीले १२ बलमा १७ रन, रुपेश सिंहले २१ बलमा १६ रन र आरिफ शेखले ७ बलमा १२ रन जोडे।
मेलबर्नका फरगर ओनिल, कलम स्टो, लाछलान ब्याङ्स र माइकल आर्चरले समान दुई-दुई विकेट लिए।
नर्दन टेरेटोरी स्ट्राइक्ससँग ४२ रन, बंगलादेश एसँग ३२ रन र मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले हारेको नेपालले चौथो खेलमा भने होबर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको थियो।
आजको खेलमा नेपालको तर्फबाट उपकप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको कप्तानी सम्हालेका हुन्। यसका अलावा आशिफ शेख, सन्दीप लामिछाने, करण केसीलाई पनि विश्राम दिइएको थियो।
भदौ ४, २०८२ बुधबार १४:३५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।