उपसभामुख रानाको बचाउमा रास्वपा, भन्यो- ‘मानव तस्करीको आरोप कपोलकल्पित, छानविनका लागि तयार’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामाथि लागेको ‘मानव तस्करी’ को आरोपलाई निन्दनीय र कपोलकल्पित भन्दै त्यसको खण्डन गरेको छ।
उपसभामुख रानाले केही व्यक्तिलाई भिसा अन्तर्वार्ताको मिति सहज बनाउन दूतावासलाई पत्र लेखेको विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले यसमा कुनै आर्थिक लेनदेन वा मानव तस्करी जस्तो गम्भीर अपराध नभएको दाबी गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म उपलब्ध तथ्य र प्रमाणले कतै पनि समाचारमा अतिरञ्जन गरिएजस्तो भिसा माग गरिएको वा आर्थिक लेनदेन भएको आधार देखिँदैन।’
भिसा अन्तर्वार्ताको मिति सहज बनाउन मात्र अनुरोध गरिएको पत्रलाई पदीय मर्यादाविपरीत भएको भन्ने कोणबाट आएका टिप्पणीप्रति उपसभामुख स्वयंले ध्यानाकर्षण भएको बताइसकेको अवस्थामा ‘मानव तस्करी’ जस्तो गम्भीर आरोप लगाउनु निन्दनीय भएको पार्टीको ठहर छ।
यो विषयबारे सूचना पाउनासाथ पार्टीले आन्तरिक सोधखोज गरेको र छानबिनका क्रममा भिसाका लागि आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डअनुसार देश बाहिर नगएको पाइएको विज्ञप्तिमा भनिएको छ।
साथै, यस प्रकरणमा कुनै प्रकारको आर्थिक लेनदेन भएको प्रमाण फेला नपरेको पनि दाबी गरिएको छ। पार्टीले सम्बन्धित व्यक्तिहरूसँग रास्वपाका उपसभापति डिपी अर्यालले गरेको कुराकानीको अडियो रेकर्ड सुरक्षित रहेको समेत जानकारी दिएको छ।
रास्वपाले यो प्रकरणलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेको छ। पहिलेदेखि नै संसद् सचिवालय र अन्य उच्च पदाधिकारीलाई जानकारीमा रहेको विषयलाई अहिले बाहिर ल्याइनुमा ‘क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास’ भएको हुन सक्ने उसको आशंका छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गलत प्रहारहरूबाट विचलित नभई रास्वपा सुशासन, सामाजिक न्याय र द्रुत आर्थिक विकासको मार्गमा अडिग रहनेछ।’
रास्वपाले उपसभामुख रानालगायत अन्य नेताहरूबाट कूटनीतिक मर्यादाविपरीत कुनै गतिविधि भए/नभएको विषयमा अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका लागि पार्टी तयार रहेको स्पष्ट पारेको छ।
साथै, धेरै राजनीतिक दलका नेताहरूले भिसाकै लागि लिखित तथा मौखिक सिफारिस गर्ने अभ्यास रहिआएको समेत पार्टीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।
भदौ ४, २०८२ बुधबार १३:५९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।