दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई निवासमै हात समातेर तान्ने प्रयास, एक जना पक्राउ

नयाँ दिल्ली : दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि आज बिहान उनकै निवासमा आक्रमणको प्रयास भएको छ।
जनसुनुवाइ कार्यक्रम चलिरहेका बेला एक व्यक्तिले उनीमाथि आक्रमणको प्रयास गरेका हुन्। सुरक्षाकर्मीले आक्रमणकारीलाई तत्काल नियन्त्रणमा लिएका छन्।
दिल्ली बीजेपीका अध्यक्ष वीरेन्द्र सचदेवाले पत्रकारहरूलाई बताएअनुसार, जनसुनुवाइका क्रममा एक व्यक्ति मुख्यमन्त्री गुप्तासमक्ष आएर केही कागजपत्र देखाउँदै उनको हात समातेर तान्ने प्रयास गरेका थिए।
सो क्रममा सामान्य धकेलाधकेल भएको र तत्कालै ती व्यक्तिलाई पक्राउ गरिएको उनले जानकारी दिए।
मुख्यमन्त्री गुप्ताको चोटबारे सचदेवाले भने, ‘ढुंगा वा थप्पड हानिएको कुरा मनगढन्ते हो। तर, धकेलाधकेलका क्रममा टेबलको कुनामा उनको टाउको लागेको हुन सक्छ।’
घटनालगत्तै मुख्यमन्त्री गुप्तालाई अस्पताल लगिएको छ। प्रहरीले आक्रमणकारीसँग सोधपुछ गरिरहेको छ।
घटनापछि विभिन्न राजनीतिक दलहरूले प्रतिक्रिया दिएका छन्। कांग्रेस सांसद एम. ट्यागोरले मुख्यमन्त्रीको सुरक्षा दिल्ली प्रहरीको जिम्मेवारी भएको भन्दै आफ्नो कर्तव्य पूरा गर्न आग्रह गरे।
दिल्ली कांग्रेस अध्यक्ष देवेन्द्र यादवले ‘दिल्लीमा कोही पनि सुरक्षित छैन’ भन्ने कुरा यो घटनाले उजागर गरेको बताए। शिव सेना (यूबीटी) की सांसद प्रियंका चतुर्वेदीले घटनालाई ‘एकदमै लाजमर्दो र दुःखद’ भनेकी छन्।
भदौ ४, २०८२ बुधबार ११:४३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।