इन्फिनिक्स बन्यो होरा ईस्पोर्ट्सको आधिकारिक स्मार्टफोन पार्टनर, अब ‘इन्फिनिक्स होरा ईस्पोर्ट्स’ नामले चिनिने

काठमाडौं : स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले चर्चित ईस्पोर्ट्स टोली होरा ईस्पोर्ट्ससँग ऐतिहासिक साझेदारी गरेको छ। यस सम्झौतासँगै इन्फिनिक्स होरा ईस्पोर्ट्सको ‘आधिकारिक ईस्पोर्ट्स स्मार्टफोन पार्टनर’ बनेको छ।
साझेदारीपछि सञ्जन गौतम ‘सीआरसेभेन होरा’को नेतृत्वमा रहेको टोली अब ‘इन्फिनिक्स होरा ईस्पोर्ट्स’का नाममा प्रतिस्पर्धा गर्नेछ।
टोलीका कप्तान ‘सीआरसेभेन होरा’ नेपालमा इन्फिनिक्सको ‘गेमिङ फेस’को रूपमा रहनेछन्। उनले विभिन्न डिजिटल प्लेटफर्ममार्फत ब्रान्डको प्रवर्द्धन गर्नेछन् भने टोलीको जर्सी, कन्टेन्ट र लाइभ टुर्नामेन्टहरूमा इन्फिनिक्सको लोगो रहनेछ।
यस साझेदारीले फ्यानहरूका लागि पनि विभिन्न अवसरहरू ल्याउनेछ। जसअन्तर्गत नेपालकै पहिलो ईस्पोर्ट्स-केन्द्रित विज्ञापन, विशेष गेमिङ भिडियो तथा हाइलाइटहरू, कलेजस्तरीय प्रतियोगिता, र ‘इन्फिनिक्स ईस्पोर्ट्स जोन’मा फ्यान मिटअप जस्ता कार्यक्रमहरू आयोजना गरिनेछन्।
साथै, खेलाडीहरूलाई इन्फिनिक्स जीटी३० प्रो स्मार्टफोन र अन्य आवश्यक सामग्री पनि उपलब्ध गराइनेछ।
साझेदारीबारे बोल्दै टोलीका कप्तान सञ्जन गौतमले भने, ‘यो केवल जर्सीमा लोगो राख्ने कुरा होइन, यो नेपालमा ईस्पोर्ट्स संस्कृति बनाउन र खेलाडीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्ने बाटो देखाउने प्रयास हो। इन्फिनिक्स हाम्रो यात्राको हिस्सा बनेकोमा हामी उत्साहित छौं।’
त्यसैगरी, इन्फिनिक्सका एनएसएम पियुष गिरीले भने, ‘हामी सधैं नयाँ पुस्ताको साथमा रहनेमा विश्वास गर्छौं। होरा ईस्पोर्ट्ससँगको यो साझेदारीमार्फत हामी नेपालकै ईस्पोर्ट्सको भविष्यमा लगानी गरिरहेका छौं।’
यो सहकार्यले इन्फिनिक्सलाई गेमरहरूमाझ एक विश्वसनीय ब्रान्डको रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ भने होरा ईस्पोर्ट्सलाई व्यावसायिक रूपमा अघि बढ्दै नेपाली ईस्पोर्ट्स क्षेत्रमा नयाँ उचाइ हासिल गर्न बल मिल्ने विश्वास लिइएको छ।
भदौ ४, २०८२ बुधबार १०:५३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।