तरुण दलका नेतामाथि भएको गोलीकाण्ड : मुख्य योजनाकारसहित सात जनालाई कैद सजाय

तरुण दलका नेतामाथि भएको गोलीकाण्ड : मुख्य योजनाकारसहित सात जनालाई कैद सजाय

सुर्खेत : तरुण दल सुर्खेतका जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहार गर्ने प्रयासको घटनामा संलग्न मुख्य योजनाकारसहित सात जनालाई सुर्खेत जिल्ला अदालतले कैद तथा जरिवानाको सजाय सुनाएको छ।

सोमबार न्यायाधीश दीपक ढकालको एकल इजलासले घटनाका मुख्य योजनाकार सन्तोष गिरीलाई विभिन्न चारवटा कसुरमा गरी कुल दुई वर्ष एक महिना कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।

अदालतका सूचना अधिकारी उज्ज्वल रावलका अनुसार गिरीलाई संगठित अपराध, ज्यान मार्ने उद्योग र हातहतियार खरखजाना मुद्दामा दुई वर्ष कैद र २० हजार जरिवाना तथा अभद्र व्यवहारमा थप एक महिना कैद र १० हजार जरिवाना तोकिएको छ।

यसैगरी, गोली प्रहारमा संलग्न भारतीय नागरिक रोहित राजपुत, मोटरसाइकल चालक इन्द्रबहादुर विक र सहयोगी भरत पाण्डेलाई ज्यान मार्ने उद्योगमा दुई वर्ष कैद र २० हजार जरिवाना तथा इजाजतबिना हतियार चलाएकोमा थप दुई वर्ष कैद र २० हजार जरिवानाको फैसला भएको छ।

घटनामा मतियारको भूमिका खेलेका राजन गिरीलाई एक वर्ष एक महिना १५ दिन कैद र १० हजार जरिवाना सुनाइएको छ। अन्य अभियुक्तहरू भरत भुल र सुरेन्द्र शाहीलाई एक-एक वर्ष कैद सजाय तोकिएको छ। राजन गिरी र भरत भुलले आफ्नो कैद अवधि भुक्तान गरिसकेका छन् भने शाहीले यही भदौ ७ गते भुक्तान गर्नेछन्।

गत १२ फागुन २०८० को साँझ वीरेन्द्रनगर-३ स्थित गैरीगाउँमा विनोद गिरी चढेको बाग्मती प्रदेश ०१-०२९ च ७२६४ नम्बरको कारमा मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली प्रहार गरेका थिए। घटनाको भोलिपल्टै प्रहरीले भारतीय सुटरसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। अनुसन्धानपछि प्रहरीले २७ चैत २०८० मा अदालतमा मुद्दा दायर गरेको थियो।

भदौ ४, २०८२ बुधबार ०८:२६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।