जितको लयलाई निरन्तरता दिने लक्ष्यमा नेपाल, आज मेलबर्न रेनेगेड्ससँग प्रतिस्पर्धा

काठमाडौं : आईसीसी टी-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज टप एन्ड टी-२० सिरिज अन्तर्गत आफ्नो पाँचौं खेल खेल्दैछ।
नेपालले आज मेलबर्न रेनेगेड्स एकेडेमीको सामना गर्नेछ। डार्विनमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
अघिल्लो खेलमा हबर्ट हरिकेन्समाथि ६६ रनको सानदार जित निकालेको नेपाल सोही लयलाई निरन्तरता दिँदै आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा छ।
सिरिजमा नेपालको यो दोस्रो जितको खोजी हुनेछ। यसअघि खेलेका चार खेलमध्ये नेपालले एकमा जित र तीनमा हार बेहोरेको छ। हाल नेपाल २ अंकसहित अंक तालिकाको आठौं स्थानमा छ।
अस्ट्रेलियाको यो भ्रमण नेपालको लागि सन् २०२६ मा हुने टी-२० विश्वकप छनोटको महत्त्वपूर्ण तयारीको हिस्सा हो। यो सिरिजपछि नेपालले अस्ट्रेलियामै थप पाँच अभ्यास खेल खेल्नेछ।
त्यसपछि नेपाली टोली यूएई प्रस्थान गर्नेछ, जहाँ उसले दुई पटकको विश्वविजेता वेस्ट इन्डिजसँग तीन खेलको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ।
यो सम्पूर्ण तयारीको मुख्य उद्देश्य ओमानमा हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्नु हो, जहाँबाट शीर्ष तीन टोली विश्वकपका लागि छनोट हुनेछन्।
भदौ ४, २०८२ बुधबार ०८:१८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।