सिद्धबाबा सुरुङमार्गमा भुइँ र भित्ता ढलान हुँदै, अर्को वर्ष काम सक्ने लक्ष्य

सिद्धबाबा सुरुङमार्गमा भुइँ र भित्ता ढलान हुँदै, अर्को वर्ष काम सक्ने लक्ष्य

पाल्पा : राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य धमाधम अघि बढिरहेको छ। आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ अर्थात् भुइँ र भित्ताको ढलानको काम तीव्र गतिमा भइरहेको छ भने अन्य कामहरू पनि सँगसँगै चलिरहेका छन्।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको यो सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन्न भएपछि कामले थप गति लिएको हो। हालसम्म आयोजनाको भौतिक प्रगति ५९ दशमलव ७३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५१ दशमलव १ प्रतिशत भएको आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए।

उनका अनुसार मुख्य टनेलमा एक हजार ८९ मिटर भूइँ ढलान (इन्भर्ट) र नौ सय ९४ मिटर भित्ताको लेपन (लाइनिङ) पूरा भइसकेको छ। अहिले दुई सय ९२ मिटरमा लाइनिङको काम भइरहेको छ। सुरुङमार्गमा तीन वटा बाइपास बनाइएका छन्, जसअन्तर्गत पहिलो बाइपासमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङ सकिएको छ। दोस्रो बाइपासमा १५७ दशमलव ८ मिटर इन्भर्ट र ८ दशमलव ३ मिटर लाइनिङ भएको छ भने तेस्रो बाइपासमा १२५ मिटर इन्भर्ट र १०४ दशमलव २ मिटर लाइनिङ सम्पन्न भएको छ।

दुई लेनको यो मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइ, साढे १० मिटर चौडाइ र करिब सात मिटर उचाइमा बन्नेछ। आयोजनाका अनुसार हाल सुरुङमार्गभित्र अत्यावश्यक सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ।

२०७९ सालदेखि निर्माण सुरु भएको यो परियोजना सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिर क्षेत्रमा एक हजार १२६ मिटरको सुरुङमार्गको रूपमा अघि बढिरहेको हो। मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ।

चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले करिब रु ७ अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा निर्माण कार्य गरिरहेको यस आयोजना २०८३ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

भदौ ३, २०८२ मंगलबार २०:४५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।