सरकारी स्वास्थ्यकर्मी कार्यालय समयमा निजी अस्पताल धाए कारबाही हुने

काठमाडौंः कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सरकारी कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम नगर्न निर्देशन दिएको छ। कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले सरकारी कार्यालय समयमा निजी क्षेत्रमा पाइए नियम अनुसार कारबाही हुने जनाएको छ।
मन्त्रालय मातहतका निकाय तथा कार्यालयमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरूले कार्यालय समयमा अस्पतालमा सेवा नदिई निजी क्षेत्रका विभिन्न अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलहरूमा विरामी जाँच गर्ने लगायतका काम गर्ने गुनासो आएको जनाएको छ। सो प्रयोजनको लागि विभिन्न संचार माध्यमबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने गरेको भन्ने गुनासो प्राप्त हुन आएको भन्दै मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सामाजिक विकास मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा अस्पतालमा सेवा नदिई यसरी निजी स्वास्थ्य संस्थाहरूमा काम गर्ने र सो प्रयोजनको लागि विज्ञापन समेत गराउनु प्रचलित कानून, नैतिकता र व्यवसायीक विपरीत हुने मन्त्रालयले जनाएको छ।
त्यसैले सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ।
नियम विपरीत निजी स्वास्थ्य संस्थामा काम गर्ने र प्रदेश सरकारबाट सेवा सुविधा समेत लिने गरेको कार्य कानुन सम्मत नदेखिएको मन्त्रालयले जनाएको छ।
भदौ ३, २०८२ मंगलबार २०:२१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।