नेपालका आकर्षक पक्षलाई विश्वभर पुर्‍याउन पर्यटन बोर्ड र टिकटकबीच समझदारी

नेपालका आकर्षक पक्षलाई विश्वभर पुर्‍याउन पर्यटन बोर्ड र टिकटकबीच समझदारी

काठमाडौं : नेपाल पर्यटन बोर्डले आफ्नो देशको पर्यटन कथा डिजिटल पुस्तासम्म पुर्याउन सामाजिक सञ्जाल टिकटकसँग साझेदारी गरेको छ। यस समझदारीमार्फत हिमाल, संस्कृति, पर्व-उत्सव, खानपान र साहसिक अनुभव जस्ता नेपालका आकर्षक पक्षलाई विश्वभरका करोडौँ दर्शकसम्म पुर्याउने लक्ष्य राखिएको छ।

साझेदारीपत्र आदान-प्रदान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भने, ‘यो केवल प्रचारप्रसार होइन, नेपाललाई नयाँ पुस्तासम्म पुर्याउने अभियान हो। डिजिटल प्लेटफर्ममा देखिने कथा नै पर्यटकका लागि पहिलो प्रेरणा बन्न थालेका छन्। टिकटकसँगको सहकार्यले ग्रामीण समुदाय, साना व्यवसायी र स्थानीय पथप्रदर्शकलाई प्रत्यक्ष फाइदा पुर्याउनेछ।’ 

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले साझेदारीको महत्वलाई औंल्याउँदै भने, ‘हाम्रो प्रयासलाई टिकटकको विश्वव्यापी पहुँचले बल दिनेछ। यसले बाहिरी पर्यटक मात्र होइन, स्वदेशी युवालाई पनि आफ्नो संस्कृति र अनुभवलाई नयाँ ढङ्गले प्रस्तुत गर्ने अवसर दिनेछ। हामी अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरलाई नेपालमा आमन्त्रित गर्नेछौं र हिमाल, ताल, मठ-मन्दिरदेखि होमस्टेसम्मको अनुभव डिजिटल माध्यमबाट विश्वसामु पुर्याउनेछौं।’ 

टिकटकका दक्षिण एसिया सार्वजनिक नीति प्रमुख फर्दोस मत्ताकिनले बताए, ‘हिमालयदेखि तराईका नदी, उत्सवदेखि खानपान र सांगीतिक परम्परा सबै छोटा भिडियोमा उतारेर विश्वभर देखाइनेछ। सहकार्यले नेपाललाई पर्यटकको ‘बकेटलिस्ट’मा थप बलियो बनाउनेछ।’ 

साझेदारीको माध्यमबाट ‘लाइफटाइम एक्स्पिरियन्स’ ह्यासट्यागमा विशेष इन-एप प्लेटफर्म बनाइने र सन् २०२५ को बाँकी अवधिभर यो अभियान चरणबद्ध रूपमा सञ्चालन हुने योजना छ। काठमाडौँमा आयोजना हुने ‘भिजिट नेपाल’ कार्यक्रममा अन्तर्राष्ट्रिय कन्टेन्ट क्रिएटर, सांस्कृतिक दूत र पर्यटन व्यवसायीको सहभागिता रहनेछ।

नेपाल पर्यटन बोर्ड र टिकटकको यो सहकार्यले देशको पर्यटनलाई नयाँ पुस्ता, नयाँ बजार र डिजिटल माध्यममार्फत विश्व पर्यटन सन्दर्भमा सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

भदौ ३, २०८२ मंगलबार १९:१७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।