निर्देशक सरोजमाथि पूर्णबहादुरले लगाएको ‘दाग’ कोशेढुंगाले मेट्ला त?
काठमाडौं : पूर्णबहादुरको सारंगीपछि दर्शक रुवाउने लक्ष्यसहित टन्नै विरही फिल्महरू हलमा आए। दर्शक त के रुन्थे र, फिल्मको व्यापारिक आँकडा देखेर निर्माता चैँ रोए। त्यो पनि सुँक्कसुँक्क हैन ग्वाँग्वाँ। किनकि व्यापारको आँकडै मनै थाम्न नसक्ने जो थियो।
देखासिकी नेपाली फिल्म क्षेत्रको हैन, नेपालकै समस्या हो। कतै पेडा बिक्री भयो भने वरिपरि पेडा नै पेडाको पसल। कतै चिया चल्यो भने चिया नै चियाको दोकान। क्रियटिभी कम यहाँ नक्कल बढी जो चल्छ।
पूर्णबहादुरको सारंगीका निर्देशकले निर्देशन गरेको तेस्रो फिल्म कोशेढुंगाको टेलरले पनि त्यस्तै विरही कथा बोकेको देखियो। भदौ १२ लाई प्रदर्शनमिती तोकेर मंगलबार सार्वजनिक गरिएको टेलरको प्रारम्भदेखि अन्त्यसम्मै निर्देशकले विरही भाका बोकेका छन्।
अभिनेत्री सुरक्षा पन्त, ऋचा शर्मा, नीति शाह र हिउँवाला गौतम। अर्कोतिर अभिनेता आर्यन सिग्देल, प्रवीण खतिवडा, सरोज खनाल, मञ्जिल कुमार। कलाकारको लाइन अप निकै बलियो देखिन्छ फिल्ममा। टेलर अनुसार गाउँमा हली बसेका व्यक्तिसँगको प्रेम र विवाहले निम्त्याउने एकातिरको कथा अनि अर्कोतिर पशुपालन गरिरहेका व्यक्तिको प्रेम सम्बन्धलाई विरही फ्लेवरमा निर्देशकले कथा भनेको देखिन्छ।
पूर्णबहादुरको सारंगीले नेपाली फिल्म क्षेत्रमा सहजै भत्काउनै नसक्ने व्यापारको ब्रान्ड बनाएको छ। त्यसको हकदार निर्देशक हुने नै भए। फिल्म कमजोर भए अपजस पाउने उनै हुन्। फिल्म सफल भएपछि जस पाउने पनि उनी नै हुन्। त्यसैले जस लायक सरोज पौडेल हुन्। त्यसैले विरही फ्लेवरमा पनि उनको हक त लाग्छ।
तर सफल हुँदाहुँदै निर्देशक पौडेलमाथि कथा चोरीको गम्भीर आरोप समेत लाग्यो। प्रहरीसम्म त्यो आरोप पुगे पनि किनारा लागेन। त्यो आरोप कति सत्य छ? त्यसको पुष्टि गर्ने प्रमाण बन्न सक्छ कोशेढुंगा। किनकी यसमा पनि उनकै कथा छ अनि निर्देशन।
व्यापारको त कसरी भविष्यवाणी गर्न सकिन्छ र। त्यो दर्शकमा भर पर्ने कुरा भयो। उनको चुनौती कथ्य शैली र फिल्मको संरचना कति बलियो हुनेछ भन्ने नै हो।
टेलरकै आधारमा भन्ने हो भने फिल्मले ट्वाक्क दर्शकको ध्यान तानिहाल्ने दृश्य वा संवादहरू छैनन्। फिल्मलाई तीजको गीतले भने साथ दिएको छ। यो पहिल्यै भाइरल भइसकेको छ। अब बाँकी निर्माता अनि निर्देशकको भाग्य।
भदौ ३, २०८२ मंगलबार १८:५१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।