किम जोङले गरे नयाँ युद्धपोत ‘चो ह्योन’ को निरीक्षण, अमेरिका-दक्षिण कोरियाली अभ्यासलाई भने ‘शत्रुतापूर्ण कदम’

एजेन्सी : उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नाे नौसैनिक शक्ति प्रदर्शन गर्दै नयाँ विध्वंसक युद्धपोत ‘चो ह्योन’ को निरीक्षण गरेका छन्। त्यस क्रममा उनले अमेरिका र दक्षिण कोरियाबीच सुरू भएको संयुक्त सैन्य अभ्यासलाई चर्को आलोचना गर्दै यसलाई ‘शत्रुतापूर्ण कदम’ भनेका छन्।
हाल सुरू भएको ‘उल्ची फ्रिडम सिल्ड’ नामक ११ दिने अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी छन्। यसमा कम्प्युटर-सिमुलेटेड युद्ध योजना देखि फिल्ड प्रशिक्षणसम्म समावेश गरिएको छ। उत्तर कोरियाले भने यसलाई आक्रमणको तयारीका रूपमा व्याख्या गर्दै आएको छ।
किमले पाँच हजार टन क्षमताको चो ह्योनलाई उत्तर कोरियाको नौसैनिक आणविक शक्तिको ‘मुख्य आधार’ को रूपमा वर्णन गरे। एन्टी-एयर, एन्टी-नेभल प्रणाली, ब्यालेस्टिक र क्रुज मिसाइलजस्ता आधुनिक हतियारसहित सुसज्जित यो युद्धपोतलाई अर्को वर्षदेखि सक्रिय सेवामा ल्याउने तयारी भइरहेको छ।
उत्तरले यसै वर्ष दोस्रो र तेस्रो विध्वंसक निर्माणमा काम भइरहेको जनाएको छ। तर, निर्माण प्रक्रियामा देखिएका समस्या कारण बाह्य विशेषज्ञहरूले यसकाे वास्तविक क्षमतामा शंका व्यक्त गरेका छन्।
अभ्यासलाई ‘पहिलेभन्दा बढी उत्तेजक’ भन्दै किमले कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्। सुरक्षा वातावरण दिनप्रतिदिन जटिल बन्दै गएकाले सैन्य सिद्धान्त र अभ्यासमा द्रुत रूपान्तरण आवश्यक भएको उनको भनाइ छ।
यसैबीच, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले वार्ता र विश्वास पुनःस्थापनामा जोड दिँदै सन् २०१८ को अन्तर–कोरियाली सैन्य सम्झौता पुनर्जीवित गर्न चाहेको बताएका छन्। तर, उत्तरले उक्त सम्झौता पालना नगर्ने घोषणा गरिसकेकाले भविष्यको संवाद अझै अनिश्चित देखिएको छ।
भदौ ३, २०८२ मंगलबार १७:१२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।