रोबोटको स्कटिङ र उड्ने कार देखेर दंग परे प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भृकुटीमण्डपमा मंगलबार पुग्दा त्यहाँ उनलाई स्वागत गर्न नाडा अटो शोका पदाधिकारीहरू त थिए नै, तर अग्रपङतीमा थिए कृत्रिम मानव रोबोट। आयोजकले रोबोटलाई कुर्ता सुरुवाल लगाइदिएर चिरिच्याट्ट बनाएका थिए। टाउकोमा टोपी लगाइदिएको भए मानव हुन् कि कृत्रिम मानव छुट्टाउनै गाह्रो हुने पक्का थियो। त्यो थियो युनिट्री रोबोट्स।
रोबोटको स्वागत पाएर प्रधानमन्त्री ओली दंग परे। अनि अगाडि अगाडि रोबोट लागेर उनलाई कार्यक्रमस्थलसम्म पूर्यायो।
नियमित रूपमा हरेक वर्ष आयोजना हुँदै आएको नाडा अटो शोको १७ औँ शृङ्खलालाई भव्य र आकर्षक बनाउने चुनौती थियो आयोजक नेपाल अटोमोवाइल्स एसोसिएसनलाई। कारण एक साता अगाडि मात्रै अर्को संस्था नाइमाले आयोजना गरेको अटो शो।
पहिला वर्षमा एउटा अटो शोको आयोजना हुने गरेकोमा संस्था विभाजित भएसँगै उस्तै कार्यक्रम दुई वटा भयो। अनि नियमित नाडा अटो शो भन्दा अगाडि नै नाइमाले अटो शो राखेको थियो।
नाइमाभन्दा अलग बनाउन नाडाका पदाधिकारीहरूले रोबोटको सहयोग त लिए नै दिपलको उड्ने कार पनि पहिलो पटक नेपालमा भित्र्याए। पहिलो दिनमै उनीहरूको यो रणनीतिले काम गरेको देखियो। अटो शोमा सहभागी नयाँ ब्रान्डका कारहरूप्रति ग्राहकको रुचि हुने नै भयो। उड्ने कार अनि रोबोटसँगै पुराना गाडीहरूको प्रदर्शन मुख्य आकर्षण बन्यो।
अरू त अरू प्रधानमन्त्री ओली पनि उड्ने कार र रोबोट देखेर दंग परे। अटो शोमा सहभागीहरू पनि दिपलको उड्ने कार राखेको स्थानमा झुम्मिएका थिए।
भदौ ३, २०८२ मंगलबार १७:००:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।