‘नाडा अटो शो २०२५’ मा गरियो फ्लाइङ ट्याक्सीको अनावरण

काठमाडौं : मंगलबार देखि सुरू भएको ‘नाडा अटो शो २०२५’ मा नेपालमै पहिलो पटक फ्लाइङ ट्याक्सीको अनावरण भएको छ।
मंगलबार काठमाडौंको भृकुटीमण्डप स्थित १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइङ ट्याक्सीको अनावरण गरे।
शोको मुख्य आकर्षणको रुपमा रहेको फ्लाइङ ट्याक्सी अनावरणमा अवालोकनकर्ताहरूको सबैभन्दा ठुलो भिड लागेको थियो। नेपालमा पहिलो पटक भविष्यको प्रविधि मानिएको डिपल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स भित्रिएको हो।
नेपालमा फ्लाइङ ट्याक्सी सञ्चालनका लागि आवश्यक मापदण्ड नबनेकाले नाडाले अहिले यसलाई प्रदर्शनीका लागि मात्रै अटो शोमा राखेको जनाएको छ। नाडका अनुसार भविष्यमा यस सम्बन्धी मापदण्ड बनेमा मात्रै नेपालमा यो फ्लाइङ ट्याक्सी आधिकारिक रुपमा सञ्चालन गर्न सकिने बताइएको छ।
चीनको अग्रणी प्रविधि कम्पनी एक्सपेइएनजी एईरओएचटीले विकास गरेको ‘इभीटोल फ्लाइङ कार’ को अन्तर्राष्ट्रिय बजार मूल्य करिब १० लाख चिनियाँ युआन (करिब १ लाख ३७ हजार अमेरिकी डलर) अर्थात् नेपाली करिब १ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ।
भदौ ३, २०८२ मंगलबार १५:४३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।