नन्दनको आक्रामक बलिङले रोकियो होबार्ट हरिकेन्स, अस्ट्रेलियामा नेपालको पहिलो जित

नन्दनको आक्रामक बलिङले रोकियो होबार्ट हरिकेन्स, अस्ट्रेलियामा नेपालको पहिलो जित

काठमाडौं : अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो जित हात पारेको छ। चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको हो।

काजालिस एरिना, पामस्र्टनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८० रनको चुनौतीपूर्ण योगफल बनायो। जवाफमा लक्ष्य पछ्याएको होबार्टले १६.१ ओभरमै सबै विकेट गुमाउँदै ११४ रनमा समेटियो।

नेपाललाई विजयी बनाउन नन्दन यादवले पाँच विकेटको उत्कृष्ट प्रदर्शन गरे। यस्तै कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले एक-एक विकेट लिए।

बल्लिङतर्फ होबार्टका लागि ब्राड्ली होपले ३१ र चार्ली वाकिमले २८ रन बनाए। नेपालका लागि ब्याटिङतर्फ आरिफ शेखले २६ बलमा ३३ रन, आसिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकेश बमले अविजित २५, भीम सार्कीले १८ तथा कप्तान पौडेलले ९ रन जोडे।

बलिङमा होबार्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई-दुई तथा मार्कस बेन, गाबे बेल र ब्राड्ली होपले एक-एक विकेट लिएका थिए।

नेपाल यसअघि खेलेका तीनै खेलमा पराजित भएको थियो। नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ रन र मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले हारेको थियो।

अब नेपालले आगामी बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

भदौ ३, २०८२ मंगलबार १५:२३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।