प्रधानमन्त्रीले गरे ‘नाडा अटो शो २०२५’ को उद्घाटन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा सुरू भएको १७ औँ ‘नाडा अटो शो’ को उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, आविष्कार र प्रविधि विकाससँगै देशले त्यसको सहज उपभोग गर्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
उनले नयाँ सोच र ढङ्गले काम गर्न इच्छुक युवालाई सरकारले हरतरहले सहयोग गर्ने प्रतिवद्धता जनाए। प्रधानमन्त्रीले भने, ‘अग्रगमन र आधुनिकीकरणका लागि आवश्यक नीतिगत व्यवस्था र पूर्वाधार निर्माण गरिसकिएको छ। लगानी र काममा कुनै अवरोध छैन, त्यसैले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन।’
उनले मुलुकमा भइरहेका ठूला पूर्वाधार विकास योजनाहरूको चर्चा गर्दै उत्तर र दक्षिणतर्फ नयाँ पक्की मार्ग निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल थप, हरित ऊर्जाको विस्तार, मिथेन ग्यास र धौवादी खानीमार्फत फलाम उत्पादन जस्ता उपलब्धिहरूको उल्लेख गरे।
‘प्रविधिको रूपान्तरण भइसकेको छ, यस सबैको लक्ष्य मुलुकको विकास र समृद्धि हो। तपाईंहरूले ढुक्क भएर अगाडि बढ्नुस्, देशका लागि योगदान दिनुस्,’ प्रधानमन्त्री ओलीको भनाइ थियो।
भदौ ३, २०८२ मंगलबार १४:४१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।