तक्मेको ‘मैझारो’मा दयाहाङको इन्ट्री, तीर हान्दै गरेको लुक्स सार्वजनिक

तक्मेको ‘मैझारो’मा दयाहाङको इन्ट्री, तीर हान्दै गरेको लुक्स सार्वजनिक

काठमाडौं : इलाममा छायांकन भइरहेको फिल्म ‘मैझारो’मा चर्चित अभिनेता दयाहाङ राईको इन्ट्री भएको छ।

निर्माण पक्षले गोप्य राखेको उनको भूमिका छायांकनको अन्तिम चरणमा सार्वजनिक भएको हो। सेटबाट बाहिरिएको तस्बिरमा उनी लिम्बू समुदायको भेषभूषामा तीर हान्दै गरेको अवस्थामा देखिएका छन्।

फिल्मका निर्देशक विल्सन विक्रम राई (तक्मे बुढा)ले दर्शकलाई सरप्राइज दिन दयाहाङको भूमिकालाई गोप्य राखेका हुन्।

गत साउन १ गतेबाट छायांकन थालिएको यो फिल्ममा यसअघि धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभय राज बराल लगायतका कलाकारको अभिनय रहने सार्वजनिक गरिएको थियो।

दयाहाङको प्रवेशले फिल्मप्रति दर्शकको कौतुहलता थप बढाएको छ।

विल्सनकै कथा तथा पटकथामा ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ।

फिल्मका गीतमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर सुन्न सकिनेछ।

सौरभ लामाले छायांकन गरिरहेको फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। फिल्मको प्रदर्शन मिति भने तय हुन बाँकी छ।

भदौ ३, २०८२ मंगलबार १४:०७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।