उपसभामुख रानालाई हटाउन एमाले र कांग्रेसका सांसदको हस्ताक्षर संकलन

काठमाडौं : सत्तारुढ दल एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन आफ्ना सांसदहरूको हस्ताक्षर संकलन थालेको छ।
मंगलबार बिहान सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षर गराइएको हो।
अमेरिकी दूतावासलाई भिसा अन्तर्वार्ताका लागि समय मिलाउन उपसभामुख रानाले लेखेको पत्रलाई ‘पदीय मर्यादाविपरीत’ भन्दै सत्ता गठबन्धनले उनलाई हटाउने तयारी गरेको हो।
यद्यपि, यसको पछाडि संवैधानिक परिषद्मा सत्ता गठबन्धनको बहुमत पुर्याउने राजनीतिक उद्देश्य रहेको विषय कसैबाट लुकेको छैन।
उपसभामुख परिषद्को पदेन सदस्य हुने र हाल परिषद्मा कांग्रेसको प्रतिनिधित्व नभएकाले रानालाई हटाउन खोजिएको हो।
संवैधानिक परिषदमा सरकार अहिले अल्पमतमा छ। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, विपक्षी दलको नेता र राष्ट्रिय सभा अध्यक्ष रहने प्रावधान छ।
अहिलेको संवैधानिक परिषदमा प्रधानमन्त्री र ओली र सभामुख देवराज घिमिरे एमालेबाट हुन् प्रधानन्यायाधीशबाहेक बाँकी तीन सदस्य प्रतिपक्षी दलबाट छन्।
एमालेले ‘जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न’ भन्दै बिहान साढे १० बजे सांसदहरूलाई बोलाएको थियो। निलम्बनमा रहेका टोपबहादुर रायमाझीबाहेक एमालेका ७८ सांसद छन्।
यस विषयमा एमाले सांसद योगेश भट्टराईले यस्तो हस्ताक्षर संकलनलाई ‘सामान्य संसदीय अभ्यास’ को संज्ञा दिए।
‘अचानक कुनै प्रस्ताव दर्ता गर्नुपर्दा वा अन्य आवश्यक पर्दा सांसदहरू राजधानी वा देश बाहिर हुन सक्ने भएकाले पूर्वतयारीका लागि हस्ताक्षर संकलन गर्नु सामान्य हो,’ उनले भने, ‘यस्ता हस्ताक्षरहरू महाभियोग वा सरकार परिवर्तन जस्ता विभिन्न अवस्थामा प्रयोग हुन सक्छन्।’
अर्का सांसद गोकुल बाँस्कोटाले भने आफूले 'निर्देशनअनुसार' हस्ताक्षर गरेको र विषयबारे विस्तृत जानकारी नभएको बताए।
एमालेसँगै सत्ताधारी अर्को दल नेपाली कांग्रेस पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षर गराएको छ।
सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर धमाधम हस्ताक्षर गरिरहेका छन्। हस्ताक्षरअघि नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको थियो।
प्रतिनिधिसभामा कांग्रेसका कुल ८८ सांसदमध्ये मोहन बस्नेत निलम्बनमा छन्। अहिले कांग्रेस सांसदको संख्या ८७ रहेको छ।
भदौ ३, २०८२ मंगलबार १३:२३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।