वार्ता र आक्रमण सँगसँगै, अमेरिकी राष्ट्रपतिसँग छलफल चलिरहँदा पनि युक्रेनमा रुसी हमला

एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपतिसँग वार्ता गरिरहेकै समयमा रुसले युक्रेनमाथिको आक्रमण जारी राखेको छ।
अर्कोतर्फ, युक्रेनले पनि रुसी भूमिमा ड्रोन हमला गरेको छ, जसले युद्धको तनाव र जटिलतालाई थप प्रस्ट पारेको छ।
पोल्ताभा क्षेत्रका गभर्नरले दिएको जानकारीअनुसार, रुसले उक्त युक्रेनी सहरमा आक्रमण गरेको छ। आक्रमणका कारण घरहरूको विद्युत आपूर्ति अवरुद्ध भएको छ भने विद्युत कार्यालयहरूमा पनि क्षति पुगेको छ।
आक्रमणबाट कुनै मानवीय क्षति नभएको तर लुब्नी जिल्लामा करिब १,५०० घर र ११९ व्यावसायिक प्रतिष्ठानको विद्युत आपूर्ति बन्द भएको उनले बताए।
यसैबीच, रुसको दक्षिण-पश्चिमी प्रशासनले युक्रेनी ड्रोन हमलाबाट भोल्गोग्रादमा रहेको एउटा रिफाइनरी र अस्पतालको छानामा आगलागी भएको जनाएको छ। आक्रमणकारी ड्रोनलाई भने नष्ट गरिएको रुसी अधिकारीहरूले दाबी गरेका छन्।
रुसको नागरिक उड्डयन प्राधिकरणले टेलिग्राममार्फत जनाएअनुसार, ड्रोन हमलाको खतराका कारण भोल्गोग्राद विमानस्थलबाट हुने उडानहरू राति करिब तीन घण्टाका लागि स्थगित गरिएका थिए।
भदौ ३, २०८२ मंगलबार १२:५०:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।