धनुषामा देह व्यापारमा संलग्न रहेको आरोपमा एक होटल सञ्चालकसहित ९ जना पक्राउ

धनुषामा देह व्यापारमा संलग्न रहेको आरोपमा एक होटल सञ्चालकसहित ९ जना पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले देह व्यापारमा संलग्न रहेको आरोपमा एक होटल सञ्चालकसहित ९ जनालाई पक्राउ गरेको छ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिकास्थित दुई छुट्टाछुट्टै होटलमा छापा मारी उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले सोमबार साँझ गणेशमान चारनाथ नगरपालिका-७ स्थित मानव होटल र गोदावरी होटलमा छापा मारेको थियो।

पछिल्लो समय ढल्केवर र आसपासका क्षेत्रमा अवैध देह व्यापार फस्टाएको जनगुनासो बढेपछि प्रहरीले निगरानी र कारबाही तीव्र पारेको हो।

धनुषा प्रहरीका अनुसार, मानव होटलबाट सञ्चालक राजेन्द्र महतोसहित ३ महिला र ३ पुरुष गरी ७ जनालाई पक्राउ गरिएको छ।

त्यस्तै, गोदावरी होटलबाट १ महिला र १ पुरुष गरी दुई जना पक्राउ परेका छन्। उक्त होटलका सञ्चालक विजय राउत भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ।

पछिल्ला केही महिनायता धनुषाको ढल्केवर र महोत्तरीको बर्दिवास क्षेत्रका लज, डान्सबार तथा स्पा सेन्टरहरूमा अवैध गतिविधि बढेको पाइएको छ।

विशेषगरी ढल्केवरका डान्सबारहरूमा भारतीय पर्यटक र युवाहरूको भीड लाग्ने तथा होहल्ला र झैझगडाका घटनाहरू बढेपछि स्थानीयको गुनासोका आधारमा प्रहरीले यस्ता स्थानहरूमा छापा मार्ने अभियानलाई तीव्रता दिएको हो।

भदौ ३, २०८२ मंगलबार १२:१६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।