
झापामा विद्युतीय लापरवाहीले एक वर्षमै १५ जनाको मृत्यु

झापा : झापामा असुरक्षित रूपमा बिजुलीको प्रयोग गर्दा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या डरलाग्दो रूपमा बढेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १५ जनाले करेन्ट लागेर अकालमा ज्यान गुमाएका छन्।
प्रहरीका अनुसार, पछिल्लो समय यो क्रम झनै बढेको छ। गत साउन महिनामा मात्र ५ जना र पछिल्लो चार महिनाको अवधिमा १० जनाको मृत्युले यसको भयावह अवस्थालाई देखाउँछ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार, अधिकांश घटना ग्रामीण क्षेत्रमा हुने गरेका छन्, जहाँ प्राविधिक ज्ञानको कमी र चरम लापरवाही देखिन्छ।
उनले भने, ‘पानी तान्ने मोटर चलाउँदा, खोलामा माछा मार्न करेन्ट लगाउँदा र घाँस काट्ने मेसिन चलाउँदा सबैभन्दा बढी दुर्घटना भएका छन्।’
यस्तै, एउटा दुखद घटनामा, सोमबार मेचीनगर-५ का २२ वर्षीय सन्दीप राजवंशीले घरमै बिग्रिएको पंखा बनाउँदा करेन्ट लागेर ज्यान गुमाए।
भदौ ३, २०८२ मंगलबार ११:१३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।