
रुस-युक्रेन युद्ध : बैठक रोकेर ट्रम्पले पुटिनलाई फोन गरे; सुरक्षा ग्यारेन्टीका लागि युक्रेनले ९० अर्ब डलरको अमेरिकी हतियार किन्ने

एजेन्सी : करिब चार वर्षदेखि जारी रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रसरतामा भएको सोमबार ह्वाइटहाउसमा युक्रेनका राष्ट्रपतिसहित युरोपेली नेताहरूको कूटनीतिक बैठक भयो।
बैठकमा रुस-युक्रेनबीच तत्काल युद्धविराममा सहमति जुट्न नसके पनि युद्धरत दुई देशका राष्ट्रपतिहरूबीच प्रत्यक्ष भेटवार्ताको वातावरण बन्ने सम्भावना देखियो।
बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, जर्मन चान्सलर फ्रेडरिक मर्ट्ज, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों, बेलायती प्रधानमन्त्री कीर स्टार्मर र नेटो प्रमुख मार्क रूटलगायतका शीर्ष नेताहरू सहभागी थिए। बैठकको मुख्य अजेन्डा युक्रेनलाई दीर्घकालीन सुरक्षा ग्यारेन्टी प्रदान गर्ने र शान्ति प्रक्रिया अघि बढाउने थियो।
बैठक आकस्मिक थिएन। यसको पछाडि सघन कूटनीतिक तयारी थियो। अमेरिकी जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनको टोलीले युक्रेनलाई सुरक्षा दिने योजनाको खाका तयार पारिरहेको थियो।
अर्कोतर्फ, युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ट्रम्पसँग कसरी प्रस्तुत हुने भनेर युरोपेली नेताहरूले विशेष प्रशिक्षण दिएको एनबीसी न्यूजले खुलासा गरेको छ।
बेलायती प्रधानमन्त्री स्टार्मरले जेलेन्स्कीलाई सैनिक पोसाकको सट्टा सुट लगाउन, ट्रम्पलाई हतियार र कूटनीतिक सहयोगका लागि खुलेर धन्यवाद दिन र पुटिनसँग वार्ता गर्ने ट्रम्पको पहलको प्रशंसा गर्न सल्लाह दिएका थिए।
यही रणनीतिको कारण जेलेन्स्कीले मेलानिया ट्रम्पका लागि आफ्नी श्रीमतीको तर्फबाट एक पत्रसमेत लगेका थिए।
बैठकअघि नै ट्रम्पले फ्रान्सेली राष्ट्रपति म्याक्रोंसँग कानेखुसी गर्दै ‘पुटिन मसँग सम्झौता गर्न चाहन्छन्’ भनेको माइकमा रेकर्ड भएको थियो, जसले बैठकको सम्भावित दिशाबारे सङ्केत दिएको थियो।
सुरक्षा ग्यारेन्टी मुख्य अजेन्डा, युद्धविराममा मतभेद
बैठक सौहार्दपूर्ण वातावरणमा सुरू भयो। ट्रम्पले जेलेन्स्कीको सुटको प्रशंसा गर्दै माहोललाई हलुका बनाए। बैठकको मुख्य छलफल युक्रेनलाई ‘नेटोको आर्टिकल-५’ सरहको सुरक्षा ग्यारेन्टी दिने विषयमा केन्द्रित भयो।
बेलायती प्रधानमन्त्री स्टार्मरले यसलाई ‘युक्रेन र युरोपको सुरक्षाका लागि ऐतिहासिक कदम’को संज्ञा दिए। नेटो प्रमुख मार्क रूटले पनि ट्रम्पको प्रस्तावलाई ‘ठूलो सफलता’ भन्दै यसले शान्ति सम्झौतालाई बलियो आधार दिने विश्वास व्यक्त गरे।
तर, तत्काल युद्धविरामको विषयमा भने अमेरिका र युरोपबीच स्पष्ट मतभेद देखियो। जर्मन चान्सलर फ्रेडरिक मर्ट्ज र फ्रान्सेली राष्ट्रपति म्याक्रोंले अर्थपूर्ण वार्ताका लागि पहिले युद्धविराम हुनु अनिवार्य रहेकोमा जोड दिए।
‘वास्तविक वार्ता तब मात्र सम्भव छ, जब हतियारहरू शान्त हुन्छन्’, मर्ट्जले सामाजिक सञ्जालमा लेखे।
यसको विपरीत, ट्रम्पले तत्काल युद्धविरामको सम्भावना कम रहेको बताउँदै पुटिन र जेलेन्स्कीले सिधै वार्ता गर्नसक्ने धारणा राखे। उनको यो अडान युरोपेली नेताहरूका लागि एक झट्का थियो।
बैठक रोकेर पुटिनलाई ट्रम्पको फोन
बैठक चलिरहेकै बेला ट्रम्पले एक अप्रत्याशित र नाटकीय कदम चाले। उनले जेलेन्स्की र युरोपेली नेताहरूसँगको छलफल बीचमै रोकेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधै फोनमा ४० मिनेट कुराकानी गरे। सीएनएनका अनुसार, यो गोप्य कुराकानीका बेला युरोपेली नेताहरू बैठक कक्षमा थिएनन्।
क्रेमलिनले पनि उक्त फोनवार्ताको पुष्टि गर्दै दुवै नेताले रुस र युक्रेनका प्रतिनिधिहरूबीच सीधा वार्ता हुनुपर्नेमा समर्थन जनाएको बतायो। यही फोन कल बैठकको ‘टर्निङ प्वाइन्ट’ साबित भयो। जर्मन चान्सलर फ्रेडरिक मर्ट्जले पछि खुलासा गरेअनुसार, फोनवार्तामा पुटिन आगामी १५ दिनभित्र जेलेन्स्कीसँग भेट्न सहमत भएका छन्।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले एक महत्त्वपूर्ण घोषणा गरे। उनका अनुसार, युक्रेनले सुरक्षा ग्यारेन्टीको बदलामा युरोपेली देशहरूको आर्थिक सहयोगमा ९० अर्ब डलर बराबरको अमेरिकी हतियार खरिद गर्नेछ।
‘यो योजनामा युक्रेनले ड्रोनहरू पनि निर्माण गर्नेछ, जसमध्ये केही अमेरिकाले नै खरिद गर्नेछ’, जेलेन्स्कीले भने। उनले यो सम्झौतालाई आगामी १० दिनभित्र अन्तिम रूप दिइने जानकारी दिए।
पुटिन-जेलेन्स्की भेटवार्ताको तयारी र त्रिपक्षीय बैठकको सम्भावना
अमेरिकी विदेश सचिव मार्को रुबियोले ट्रम्प प्रशासनले जेलेन्स्की र पुटिनबीच एक ऐतिहासिक भेटको तयारी गरिरहेको पुष्टि गरे।
‘यदि यो भेट सफल भयो भने, त्यसपछि ट्रम्प, पुटिन र जेलेन्स्कीबीच एक त्रिपक्षीय बैठक हुन सक्छ,’ रुबियोले भने, ‘पुटिनले म जेलेन्स्कीलाई भेट्छु भन्नु नै आफैँमा ठूलो कुरा हो।’
ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पुटिनसँगको कुराकानीपछि दुई नेताबीचको भेटको तयारी सुरू भएको र त्यसपछि त्रिपक्षीय बैठक गरिने बताए। उनले पुटिनले एक हजारभन्दा बढी युक्रेनी बन्दीहरूलाई रिहा गर्न सक्ने दाबीसमेत गरे।
यता, जेलेन्स्कीले आफू पुटिनसँग कुनै पनि पूर्वशर्त बिना भेट्न तयार रहेको स्पष्ट पारे।
‘हामीले भेट्नै पर्छ र युद्ध अन्त्य गर्ने बाटो खोज्नै पर्छ’, उनले दृढतापूर्वक भने।
भदौ ३, २०८२ मंगलबार १०:१६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।