
भारतीय नीतिको मारमा नेपाली स्टिल उद्योग : अर्बौंको निर्यात ठप्प, सयौं टन सामान गोदाममै थन्कियो

बुटवल : भारतीय नीतिका कारण रुपन्देहीको विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालित दुई ठूला स्टिल उद्योग गम्भीर संकटमा परेका छन्।
भारतले स्टिलजन्य उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा गुणस्तरको लोगो (बीआईएस) अनिवार्य गरेपछि विगत तीन महिनादेखि नेपालबाट स्टिलका भाँडाकुँडा र ट्याङ्कीको निर्यात पूर्ण रूपमा ठप्प भएको हो। जसकारण अर्बौंको कारोबार गर्ने उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् भने सयौं टन तयारी सामान गोदाममै थन्किएको छ।
सेजमा सञ्चालित भिस्तार ग्लोबल र पञ्चकन्या गरी दुई कम्पनीले स्टिलका भाँडावर्तन र पानी ट्याङ्की उत्पादन गर्दै आएका छन्। यीमध्ये भिस्तार ग्लोबलले आफ्नो कुल उत्पादनको ९० प्रतिशत र पञ्चकन्याले २६ प्रतिशत उत्पादन भारतमा निर्यात गर्दै आएका थिए।
तर, भारतको नयाँ नीतिका कारण निर्यात रोकिएपछि उद्योगहरूको उत्पादन र कारोबारमा गम्भीर असर परेको छ, जसले मुलुकको राजस्व संकलनमा समेत प्रत्यक्ष प्रभाव पारेको छ।
निर्यात पूर्ण रूपमा बन्द भएपछि पञ्चकन्याले आफ्नो उत्पादन बन्द गरेको छ भने भिस्तार ग्लोबलले उत्पादन ९५ प्रतिशतले घटाएको छ। भिस्तार ग्लोबलका लेखा अधिकृत अरविन्द त्रिपाठीका अनुसार ६ वर्षदेखि सहज रूपमा भारतमा सामान निर्यात भइरहेकामा बिना कुनै पूर्वसूचना एक्कासी निर्यात रोकिँदा कम्पनीले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।
‘पहिले मासिक ४०० टनसम्म भाँडाकुँडा उत्पादन र निर्यात हुन्थ्यो, तर अहिले उत्पादन घटाएर मुस्किलले २० टनमा झारेका छौँ,’ त्रिपाठीले भने, ‘निर्यातका लागि तयार पारिएका सयौं टन सामान गोदाममै थन्किएका छन्। यता, भारतमा निर्यात गर्न नपाएपछि चीनबाट मगाइएको कच्चा पदार्थ वीरगन्ज र कोलकाता बन्दरगाहमा अड्किएको छ।’
उनले भारतले के नियतले निर्यात रोकेको हो भन्ने स्पष्ट नभएको र यस विषयमा सरकारी स्तरबाट प्रभावकारी पहल हुन नसकेको गुनासो गरे।
पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार भारत सरकारले नीति परिवर्तन गर्दै स्टिल उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थमा ‘ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस)’ अनिवार्य गरेको छ। यसअघि तयारी वस्तुमा मात्र बीआईएस अनिवार्य थियो, तर अब कच्चा पदार्थमै यो प्रावधान लागू भएपछि चिनियाँ कच्चा पदार्थ प्रयोग गर्ने नेपाली उद्योगहरू प्रत्यक्ष मारमा परेका छन्।
‘पहिले हामीले उद्योग विभागबाट उत्पादन प्रमाणपत्र लिएर आवश्यक मूल्य अभिवृद्धि (भ्यालु एड) गरी सामान पठाउँथ्यौं,’ साहुले भने, ‘तर अब कच्चा पदार्थ नै भारतको हुनुपर्ने जस्तो अवस्था सिर्जना भयो । यसो हुँदा हाम्रो उद्योगको संरचना मात्र नेपालमा हुने भयो, जसको कुनै अर्थ रहँदैन।’
नेपालका अधिकांश स्टिल उद्योगले चीनबाट कच्चा पदार्थ आयात गरी वस्तु तयार पारेर भारत निर्यात गर्छन्। भैरहवा सेजका सह-निर्देशक, मेकानिकल इन्जिनियर सबुत डुम्रे भारतको यो कदमलाई आफ्नो बजारमा चिनियाँ कच्चा पदार्थको प्रवेश रोक्ने रणनीतिक चालका रूपमा विश्लेषण गर्छन्।
‘भारतीय लगानीकर्ताकै अगुवाइमा ६ वर्षअघि करोडौं लगानीमा स्थापित उद्योगको ९० प्रतिशत उत्पादन भारत नै जान्थ्यो। त्यहाँबाट अन्य मुलुकमा पनि निर्यात हुन्थ्यो,’ डुम्रेले भने, ‘तर अहिले आफ्नै लगानीको उद्योगका उत्पादन रोक्नुको पछाडि चिनियाँ कच्चा पदार्थलाई रोक्ने मनसाय देखिन्छ।’
उद्योगीहरू पनि भारतले नेपाली उद्योगलाई निरुत्साहित गरी आफ्नै देशबाट कच्चा पदार्थ खरिद गर्न बाध्य पार्न खोजेको बताउँछन्।
राजस्वमा अर्बौंको धक्का
स्टिलका भाँडाकुँडा नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्ये पर्छ। भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा यो मुलुकबाट निर्यात हुने प्रमुख १० वस्तुमध्ये छैटौं स्थानमा थियो। गत वर्ष मात्रै ३ अर्ब ३६ करोड ६२ लाख ५८ हजार रुपैयाँ बराबरका भाँडाकुँडा निर्यात भएका थिए।
भैरहवा भन्सारका प्रमुख रामप्रसाद रेग्मीले करिब चार महिनादेखि भाँडा, वर्तन र स्टिल ट्याङ्कीको निर्यात रोकिएको पुष्टि गरे । उनले यदि निर्यात नखुलेमा चालु आर्थिक वर्षमा मुलुकलाई करोडौं रुपैयाँ राजस्व घाटा हुने बताए।
उद्योगीहरूले समस्या समाधानका लागि सरकारसँग बारम्बार गुहार मागिरहेका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भारतले आफ्नो कच्चा पदार्थ बिक्री गर्ने उद्देश्यले नेपाली उत्पादनको निर्यातमा अवरोध गरेको बताए।
‘हामीले यो समस्या समाधान गरी निर्यातलाई सहज बनाइदिन सरकारसँग निरन्तर पहल गरिरहेका छौँ’, उनले भने।
यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरिसकेको छ। मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिव तर्कराज भट्टले परराष्ट्रबाट भारतलाई पत्र पठाइएको तर हालसम्म कुनै जवाफ नआएको जानकारी दिए।
भदौ ३, २०८२ मंगलबार ०९:३५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।