कृष्णजन्माष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर दुई जनाको मृत्यु

कृष्णजन्माष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज : सप्तरीको खड्क नगरपालिका-६ मा श्रीकृष्णजन्माष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा खड्क नगरपालिका-७ का १८ वर्षीय राजा चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार श्रीकृष्णजन्माष्टमीका अवसरमा गाउँमा बनाइएको मूर्ति सेलाउन सार्वजनिक पोखरीमा जाँदा उनको डुबेर मृत्यु भएको हो।

डुबेर अचेत भएका चौधरीलाई गाउँलेहरूले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै घोंघी टिप्न गएका बेला वडा नं २ सीतापुरका स्थानीय सजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको छ।

सदा घरबाट करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंघी टिप्न गएका बेला डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

भदौ ३, २०८२ मंगलबार ०७:५३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।