
पार्किङमा राखिएकाा गाडीबाट पेट्रोल र डिजेल चोर्ने चार जना पक्राउ

भक्तपुर : पार्किङमा राखिएको सवारी साधनबाट पेट्रोलियम पदार्थ चोरी गर्दै हिँड्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
चाँगुनारायण नगरपालिका-३ झौखेलस्थित एउटा इँटाभट्टामा रोकी राखेको ट्रकबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा स्थानीयले गिरोहका चार जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका हुन्।
पक्राउ पर्नेमा बसका चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-११ घर भई हाल च्यामासिंह बस्ने ३२ वर्षीय सरोज सुनार, बसको सहचालक चाँगुनारायण-७ बागेश्वरी बस्ने ३२ वर्षीय अमीर लामा रहेका छन्।
साथै सूर्यविनायक नगरपालिका-७ बस्ने २७ वर्षीय सुमन तामाङ र काठमाडौं थानकोट घर भई हाल च्यामासिंह बस्ने २७ वर्षीया पूर्णिमा महर्जनलाई पनि पक्राउ परेको प्रहरी परिसर भक्तपुरले जनाएको छ।
बा४ख ४२८० नम्बरको बसमा आएका चोरी गर्ने गिरोहले ४० लिटर डिजेल चोरी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई केही व्यक्तिले कुटपिट गर्दा तीन जना घाइते भएका थिए। घाइतेको भक्तपुर अस्पतलमा उपचार गरी प्रहरी हिरासतमा लगिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ।
चोरीमा संलग्न रहेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर राखेका चार जनालाई प्रहरीले हिरासतमा राखेर छानबिन गरिरहेको प्रहरीले जानकारी दिएको छ।
भदौ ३, २०८२ मंगलबार ०७:३३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।