सामाजिक सञ्जालमा आउने भ्रामक सूचनाका पछि नलाग्न लगानीकर्तालाई नेप्सेको आग्रह

सामाजिक सञ्जालमा आउने भ्रामक सूचनाका पछि नलाग्न लगानीकर्तालाई नेप्सेको आग्रह

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले हाल सामाजिक सञ्जालहरूमा नेप्सेका नाममा सेयर बजारसम्बन्धी भ्रामक तथा अनधिकृत सामग्रीहरू देखा पर्न थालेको भन्दै लगानीकर्तालाई सतर्क रहन आग्रह गरेको छ।

नेप्सेका अनुसार पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमार्फत नक्कली भिडियो, अडियो, स्टक टिप, सेयर किनबेचको सिफारिस र झूट्टा दाबीहरू प्रसारित भइरहेका छन्। यस्ता क्रियाकलापबाट सर्वसाधारण लगानीकर्ताको मनोबलमा नकारात्मक असर पार्ने खतरा रहेको नेप्सेले विज्ञप्तिमा भनेको छ।

नेप्सेले धितोपत्र किन्न वा बेच्न सल्लाह दिने, प्रतिफलको ग्यारेन्टी गर्ने र खरिद-विक्री मूल्य तोक्ने अधिकार नरहेको प्रष्ट पारेको छ। यस्तो खालको सामग्रीलाई नितान्त भ्रामक र अनधिकृत ठहर गर्दै नेप्सेले लगानीकर्तालाई सजग रहन अनुरोध गरेको छ।

नेप्सेले आधिकारिक सूचना वा प्रेस नोट केवल आफ्नो वेबसाइट र आधिकारिक सामाजिक सञ्जालमार्फत मात्र प्रकाशित गर्ने बताएको छ। नेप्सेको नाम दुरुपयोग गरी मिल्दोजुल्दो नाममा वेबसाइट सञ्चालन गर्ने, एप बनाउने वा च्याट ग्रुप सञ्चालन गर्ने कार्य दण्डनीय अपराध हुने चेतावनी पनि दिएको छ।

लगानीकर्तालाई हल्ला, उक्साहट, अनधिकृत च्याट ग्रुप, क्लबहाउस वा टेलिग्रामका आधारमा कारोबार नगर्न आग्रह गरिएको छ। साथै, नेप्सेको नाम, लोगो वा भवनको तस्वीर प्रयोग गरी बनाइएका एप, पेज वा समूहमा व्यक्तिगत विवरण वा पासवर्ड नदिन चेतावनी दिइएको छ।

शंकास्पद सामग्री भेटिएमा सोको स्क्रिनसट वा लिङ्कसहित नेप्सेलाई [email protected] मा जानकारी दिन सकिने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले विज्ञप्ती मार्फत भनेका छन्।

 

भदौ २, २०८२ सोमबार २१:१८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।