सुटकेसभरि नक्कली शैक्षिक प्रमाणपत्र बोकेर आएका एक भारतीय रुपन्देहीबाट पक्राउ

सुटकेसभरि नक्कली शैक्षिक प्रमाणपत्र बोकेर आएका एक भारतीय रुपन्देहीबाट पक्राउ

भैरहवा : प्रहरीले रुपन्देहीमा ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, कानपुर नौवस्तीका २५ वर्षीय अभिषेक यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले आइतबार साँझ सूचनाको आधारमा उनलाई सिद्धार्थनगर-१ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथतर्फ प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको हो।

प्रहरीले यादवको शरीर र सुटकेस खानतलासी गर्दा त्रिभुवन विश्वविद्यालयको १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, विभिन्न संस्थाका नक्कली स्ट्याम्प, पाँच वटा स्ट्याम्पप्याड, २१ बण्डल (४०४० थान) त्रिवि होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को १९ प्याकेट (२००० थान), राष्ट्रिय परीक्षा बोर्डको १७ प्याकेट (१७०० थान) नक्कली होलोग्राम तथा स्टिकर बरामद गरेको छ।

त्यसैगरी भारतको एमिटी विश्वविद्यालयका ८० वटा नक्कली मार्कसिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट, ४९ वटा अन्य प्रमाणपत्र र ४० वटा खाली लोगो समेत फेला परेको प्रहरीले जनाएको छ। जवाहरलाल नेहरु टेक्निकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहूजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयलगायतका नाममा बनेका नक्कली छाप पनि बरामद गरिएको छ।

यससँगै प्रहरीले चार वटा पेनड्राइभ, एचपी ल्यापटप, आइफोन, रियलमी मोबाइल, तीन वटा एटीएम कार्ड, भारु १८ हजार ५०० र नेपाली ३ हजार २५ रुपैयाँ नगद समेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार लामो समयदेखि यस क्षेत्रमा नक्कली प्रमाणपत्रको अवैध कारोबार भइरहेको सूचनालाई पछ्याउँदै यादव पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पक्राउ परेका यादव ‘मुख्य व्यक्ति नभई अरूको लागि काम गर्ने कामदार’ भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए। उनले भने, ‘नक्कली प्रमाणपत्र प्रायः विदेश अध्ययन र रोजगारीका लागि प्रयोग हुने गरेको खुलेको छ, तर अन्य प्रयोजनलाई नकार्न सकिँदैन। यसमा संलग्न मुख्य व्यक्तिहरूलाई पहिचान गरिसकेका छौँ, उनीहरू फरार छन्। पक्राउ परेपछि थप विवरण बाहिर आउनेछ।’ 

भदौ २, २०८२ सोमबार २०:३०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।