
एनपिएलमा जुवाको सरोगेट विज्ञापन देखाउँदा क्यान कारबाहीमा, ब्रान्ड लजिक र टिसिएमलाई जरिवाना र तीन महिना प्रतिबन्ध

काठमाडौं : नेपाल प्रिमियर लिगमा अनलाइन जुवाको सरोगेट कम्पनीसहित अनधिकृत विज्ञापन प्रसारण गरेको ठहर गर्दै विज्ञापन बोर्ड नेपाल क्रिकेट सङ्घ र दुई कम्पनीमाथि कारबाहीको निर्णय गरेको छ। एनपिएलमा सङ्घ र केही फ्रेन्चाइज टिमले अनलाइन जुवाको प्रवर्धन गर्ने विज्ञापन राखेका थिए। संघले बोर्डको अनुमति नलिई विज्ञापन प्रकाशन र प्रसारण गरेको थियो।
एनपिएलको प्रारम्भदेखि नै संघका पदाधिकारीहरूले निजी कम्पनीहरूसँग मिलेर गरेको गैर कानुनी गतिविधिबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गर्दै आएको छ। संघले विद्यमान कानुनी प्रावधान उलङ्घन गर्दै गैर कानुनी काम गर्दै आएको थियो।
बोर्डले सोमबार सार्वजनिक गरेको निर्णयमा साउन २१ र २९ गते बसेको बोर्ड बैठकले पुन यस्तै गरे भविष्यमा विज्ञापन सम्बन्धी कामै गर्न नपाउनेगरि प्रतिबन्ध लगाउने चेतावनीसहित संघलाई गैर कानुनी विज्ञापन नगर्न सचेत गराएको उल्लेख छ।
एनपिएलमा संघको सहयोगी कम्पनी ब्रान्ड डिजिटल लजिक प्रालि र भारतीय कम्पनी टिसिएम स्पोर्टस एन्ड मार्केटिङ प्रालिको नेपालमा रहेको कम्पनीलाई कारबाही गर्दै तीन महिनासम्म विज्ञापन सम्बन्धी कुनै काम गर्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
बोर्डका अनुसार नेपाल प्रिमियर लिग का खेलहरूका सम्बन्धमा ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनी मार्फत स्टार स्पोर्टस च्यानलबाट विज्ञापन सहित प्रसारण गरेको, जुवा खेल्ने खेलाउने साइटका विज्ञापनहरू खेलाडीका टी-सर्ट, ग्राउन्डमा राखिएको र खेलमा बेटीङ्ग समेत गरिएको भनेर उजुरी आएको उल्लेख छ।
उजुरीको अनुसन्धानकोक्रममा क्रिकेट संघले विज्ञापन बोर्डका विभिन्न मितिका पत्रको जवाफ पेस नगरेको र २०८२ साउन २६ गतेको पत्रमा कार्य व्यस्तताको कारण जवाफ पेस गर्न नसकिएको भन्दै पेस गरेको जवाफ चित्त बुझ्दो नभएको उल्लेख छ।
‘विज्ञापन (नियमन गर्ने) ऐन, तथा विज्ञापन (नियमन गर्ने। नियमावली बमोजिम बोर्डको निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न गराउनबाट रोका राख्ने, विज्ञापन नियमन गर्ने ऐन एवं अन्य प्रचलित ऐन तथा नियम विपरीत विज्ञापन नगर्न सचेत गराइएको’ बोर्डले जानकारी गराएको छ।
ब्रान्ड डिजिटल लजिक र टिसिएमको हकमा उनीहरूले विज्ञापन नियमन गर्ने ऐन र नियमावली अनुसार बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न रहेको तथा प्रचलित कानून विपरीतका विज्ञापन प्रदर्शन गरेको भन्दै दुवै एजेन्सीलाई दश/दश हजार रुपैयाँ जरिवाना गर्ने, ३ महिनासम्म विज्ञापन वा सूचना दिन वा लिन वा विज्ञापन वा सूचना प्रकाशन वा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाउने र उक्त अवधिसम्म उक्त एजेन्सीलाई बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरेको उल्लेख छ।
एनपिएल आयोजक परिषद्ले पारदर्शी रूपमा पहिलो सिजनको आम्दानी र खर्च देखाउन नसक्दा संघको बोर्ड बैठकले अहिलेसम्म आम्दानी र खर्च विवरण अनुमोदन गरेको छैन। आठ फ्रेन्चाइज टिमका सञ्चालकहरूले समेत आम्दानी र खर्च पारदर्शी नभएको भन्दै विस्तृत विवरण मागिरहेका छन्।
उकेराले प्राप्त गरेको विवरणमा एनपिएल आयोजक परिषद्का पदाधिकारी र ब्रान्ड लजिक तथा टिसिएमका अधिकारीबीच अनधिकृत सम्बन्ध रहेको देखिएको थियो। एनपिएलमा भएको बदमासीका कारण सचिव तथा लिग आयोजना परिषद्का संयोजक पारस खड्का प्रारम्भदेखि नै विवादमा तानिएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा खेलकुद मन्त्रालयले गरेको छानबिनमा संघले मागेको विवरण नबुझाएपछि पुन छानबिन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ।
भदौ २, २०८२ सोमबार १९:२८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।