
यसरी २९ जनाको चिहान बनेको थियो गौर : उकेराको तीन स्थलगत समाचार जसले देखाउँछ आपराधिक आयतन

काठमाडौं : एकै दिन,एकै समय पारेर २०६३ चैत ७ मा गौरको राइसमिलको चौरमा तत्कालीन एकीकृत माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमले आयोजना गरेको विरोध प्रदर्शन झडपमा बदलियो। दुवै समूहले कार्यक्रमलाई शक्ति प्रदर्शनका लागि अस्तित्वको लडाई समान बनाएका थिए।
राष्ट्र संघीय मानव अधिकार सम्बन्धी उच्चायुक्तको प्रतिवेदन अनुसार गौर घटना अगाडि नेपालगन्ज, बाँके, रुपन्देही, नवलपरासी, जनकपुर, धनुषा र गौरमै समेत झडप भएका थिए। रौतहटको गौरमा शक्ति प्रदर्शन गर्न दुवै समूहले जिल्लाभित्रका भन्दा जिल्ला बाहिरका नेता तथा कार्यकर्ताहरू जम्मा गरेको थियो।
निहुँ खोज्न गएको थियो माओवादीको संगठन। किनकी फोरमले २०६३ चैत ७ मा राइसमिलको चौरमा कार्यक्रम गर्ने भनेर प्रचार गरिसकेको थियो। उनीहरूले कार्यक्रमस्थल त्यही चौर तय गरेर १०-१२ दिन अघिदेखि प्रचार गरिसकेका थिए। फोरमको कार्यक्रम हुने दुई दिन अगाडि मात्रै माओवादीको भातृ संगठन मधेसी मुक्ति मोर्चाले फोराइसमिलको चौरमा कार्यक्रम गर्ने घोषणा गरेको थियो।
मधेसी जनअधिकार फोरमतिरका प्रदर्शनकारीमा स्थानीयकै बाहुल्यता थियो। माओवादीले भने विभिन्न जिल्लाहरूबाट योङ कम्युनिस्ट लिगका कार्यकर्ताहरू भेला पारेको थियो।
दिउस २ बजेतिर कार्यक्रम गर्न फोरमले आफ्ना नेता/कार्यकर्ताहरूलाई मञ्च अगाडि बोलाइरहेको बेलामा माओवादीको समूह गौर बजार परिक्रमा गरेर चर्को नारासहित चौरमा आइपुग्यो। त्यो बेलामा माओवादीको मञ्च भत्काइएको थियो, कुर्सी लडाइएको थियो। यो देखेपछि उनीहरू आक्रोशित भएर फोरमको कार्यक्रमस्थलतिर आए। दुवै पक्षबीच झडप सुरु भयो। दुबैतिर भागाभाग भयो। सडक र गल्लीहरूमा लखेट्न सुरु भयो। केही समयमा बन्दुक पड्किएको आवाज आयो।
माओवादी प्रदर्शनमा सहभागीहरूलाई फोरम समर्थकहरूले लखेटी लखेटी बाँसको फट्काले हानेर हत्या गरे। ११ जनालाई त बोधीमाई मन्दिरमा लगेर मानव बली नै दिएका थिए।
यो घटनामा निहुँ खोज्न जाने माओवादी थियो। तर झडपमा सबैभन्दा धेरै मानवीय क्षति उसैतर्फ भयो। २९ जना माओवादी कार्यकर्ताहरू मारिए। घटनाको तीव्र विरोध भयो। तर बिस्तारै यो साम्य हुँदै गयो। यती धेरै प्रदर्शनकारी मारिएको जघन्य अपराध राजनीतिक स्वार्थमा ओझेल पर्यो।
किनकी यसमा जोडिएका थिए उपेन्द्र यादवदेखि प्रभु शाहसम्म। पीडित परिवारले प्रहरीमा जाहेरी दिए। तर अनुसन्धान भएन। अन्तमा सर्वोच्च अदालत गुहार्दा सोमबार अनुसन्धान गर्न आदेश भयो।
के थियो गौर घटना? घटनास्थलको अवस्था कस्तो थियो? कसरी मारिएका थिए प्रदर्शनकारी? यो राजनीतिक घटना थियो वा आपराधिक? २०६३ मा घटना भएको दिनको स्थलगत अवलोकनदेखि १८ वर्षपछि घटनास्थल पुगेर गरिएको तीन समाचार जसले बुझाउँछ गौर घटनाको आपराधिक आयतन।
१-अझै झस्काइरहने त्यो दर्दनाक दृश्य : रगत लतपतिएको मन्दिर, कपाल टाँसिएको गोलो ढुंगा
उनी यसले हाने भन्दै देखाइरहेका थिए। तर चौरमा देखिने प्रमाण केही थिएनन्। हजमनिया बोधिमाई मन्दिर रहेछ पाँच किलोमिटरको दूरीमा। भागेर त्यता पुगेका माओवादी कार्यकर्तालाई लखेटी-लखेटी मारेको भन्दै थिए स्थानीय सहयोगी। माओवादी कार्यकर्तालाई मन्दिरमा बलि दिएको भन्दै थिए। त्यहाँ ११ जना मारिएका थिए।
विस्तृत : अझै झस्काइरहने त्यो दर्दनाक दृश्य : रगत लतपतिएको मन्दिर, कपाल टाँसिएको गोलो ढुंगा
२-गौर हत्याकाण्डको अनुसन्धानमा छुटेका रामविश्वास र प्रविन
उकेराले फेला पारेको गृहको प्रतिवेदनमा पासवान चैत ७ मै मारिएको उल्लेख छ। उनको ठेगाना रौतहट सोनरनिया नै उल्लेख छ।
गृहको प्रतिवेदनमा रामविश्वास पासवानको मृत्यु भएको स्थान उल्लेख छैन। केवल मिति मात्र उल्लेख छ। अन्य मृतकका परिवारलाई सरकारले १० लाखसम्म राहत दियो। तर रामविश्वासको परिवारले राहत पनि पाएको देखिएन।
गौर घटनामा हराएको व्यक्तिहरूको सूची खोज्नेक्रममा उकेराले मानव अधिकार सम्बन्धी राष्ट्रसंघीय मानव अधिकार उच्च आयोगको प्रतिवेदन फेला पार्यो। २००७ अप्रिलमा तयार पारेको प्रतिवेदनमा भने यी दुवैको नाम छ, तर बेपत्ता भनेर।
विस्तृत : गौर हत्याकाण्डको अनुसन्धानमा छुटेका रामविश्वास र प्रविन
३-मन्दिरमा ११ जनाको मानव बली
मन्दिर नजिकै भेटिएका राजेश कुमार साह उकेरासँग कुरा गर्न राजी भए। उनले मन्दिर देखाउँदै भने ‘केहीलाई त यहीँ मारेका थिए।’
मन्दिर रहेको क्षेत्र सुनसान। पिपलको रुख नजिकै सानो मन्दिर। नजिकै अर्को ठूलो मन्दिर। गौरमा नरबली चढाउँदा त्यहाँ सानो मन्दिर मात्र थियो। सडक अनि सडकपारि खेत थियो। गौर घटना भएको बेलामा गहुँको सिजन थियो। उकेराकर्मी पुग्दा पनि त्यहाँ गहुँ पाकिसकेको थियो।
साहले गहुँबारीतिर देखाउँदै भने ‘केहीको लास त घटना भएको धेरैपछि गहुँबारिमा भेटिएको थियो। चैतको अन्तिमतिर गहुँ काटिन्छ। घटना भएको केही हप्तासम्म बाहिर निस्कन सक्ने अवस्था थिएन। माहौल अलि नरम भएपछि गहुँ काट्दा जाँदा लास पो भेटियो। केही लास त गहुँवारिमा गाँडेको रहेछ।’
विस्तृत : मन्दिरमा ११ जनाको मानव बली, तर अनुसन्धानमा सरकार निष्क्रिय
भदौ २, २०८२ सोमबार १८:३९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।