पुराना पार्टीले केही गरेनन् भन्ने भाष्य बनाएर समाजलाई दिग्भ्रमित पार्ने प्रयास भइरहेको छ : सभापति देउवा

पुराना पार्टीले केही गरेनन् भन्ने भाष्य बनाएर समाजलाई दिग्भ्रमित पार्ने प्रयास भइरहेको छ : सभापति देउवा

ललितपुर : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुराना पार्टीहरूले केही गर्न सकेनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

पार्टीको शुभेच्छुक संस्था समन्वय विभागले आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको अन्तरक्रिया तथा तीज शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले यस्ता भाष्य र चुनौतीलाई सामना गर्दै कांग्रेसलाई अझ सशक्त र क्रियाशील बनाउनुपर्ने आवश्यकता औंल्याए।

‘कांग्रेसले लामो सङ्घर्ष, बलिदान र आन्दोलनमार्फत बहुदलीय लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताको जग बसाएको छ,’ देउवाले भने, ‘शुभेच्छुक संस्थाहरू पार्टीको मूल्य, मान्यता, आदर्श र कार्यक्रमहरूलाई जनस्तरसम्म पुर्याउने आधारशिला हुन्। कांग्रेसलाई अझ सबल बनाउन तपाईंहरूको योगदान महत्त्वपूर्ण छ।’ 

देउवाले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई सक्रिय र गतिशील बनाई पार्टीभित्र बृहत एकता कायम गर्दै आगामी निर्वाचनमा बहुमत ल्याई मुलुकलाई स्थिरता दिनुपर्नेमा जोड दिए।

साथै उनले हरितालिका तीज नेपाली महिलाको विशेष पर्व भएको उल्लेख गर्दै चेलीबेटीले माइत आउने र पारिवारिक सम्बन्धलाई नजिक बनाउने अवसरका रूपमा पनि यसको सांस्कृतिक महत्त्व रहेको बताए।

भदौ २, २०८२ सोमबार १७:५३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।