
यो वर्ष धान उत्पादन घट्ने अनुमान

काठमाडौं : देशभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यसै अवधिमा यो दर ९८.४४ प्रतिशत पुगेको थियो।
कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने मनसुन ढिलो सक्रिय भएकाले मधेस प्रदेशमा मात्र ८६.३५ प्रतिशत रोपाइँ भएको छ।
अन्य प्रदेशहरूमा कर्णालीमा ९९.३४ प्रतिशत, लुम्बिनीमा ९८.०७ प्रतिशत, बागमतीमा ९७.२७ प्रतिशत, गण्डकीमा ९४.८३ प्रतिशत र कोशीमा ९४.४२ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।
यस वर्ष देशभर करिब १३ लाख हेक्टर जमिनमा धान रोपिएको छ। कुल खेतीयोग्य क्षेत्रफल करिब १४ लाख हेक्टर रहेकोमा भदौ दोस्रो सातासम्म रोपाइँ केही वृद्धि हुने अनुमान गरिएको छ।
धान उत्पादनका हिसाबले तराई क्षेत्रलाई सबैभन्दा उपयुक्त मानिन्छ, जसले कुल उत्पादनको करिब ७० प्रतिशत योगदान दिने गरेको छ भने बाँकी ३० प्रतिशत उत्पादन पहाडमा हुने गर्छ। आर्थिक वर्ष २०८०/८१ मा कुल ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो।
यो वर्ष करिब ६० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ, जसबाट करिब ३५ लाख मेट्रिक टन खानयोग्य चामल प्राप्त हुने मन्त्रालयले जानकारी दिएको छ।
भदौ २, २०८२ सोमबार १७:१६:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।