
गेरु वस्त्रमा देखिएका प्रसाईं पत्रकार सम्मेलनमा निराश देखिए, भने- म राजाबादी होइन्

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरे। गेरु वस्त्रमा देखिएका प्रसाईंको अनुहार चङ्गा थिएन। उनी गलेका झै देखिन्थे। तर उनले आफू नगलेको भन्न समेत भ्याए। पत्रकार सम्मलनको अन्तिममा पत्रकारले तपाईं गल्नु भएको हो ? भन्दै प्रश्न गरे। जवाफमा उनले भने- ‘कहाँ गले ? भाइ कहाँ गलेर आए ? मैले सबै कुरा देखाइदिएको छु। म भागेको छु गलेर ? म रोएको छु जेल बाट निकालिदेउ भनेर ?’
उनले आज आफू राजाबादी नभएको दाबी गरे। आफूलाई राजबादी र राप्रपाले धोका दिएको आरोप लगाउँदै उनले आफू राजाबादी नभएर राष्ट्रबादी भएको बताए।
गत चैत्र १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको समेत आरोप लगाए। सोमबार पत्रकार सम्मेलन गर्दै उनले १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको भन्दै भारतबाट गाडी चोरेर ल्याएर झापाको बिर्तामोडमा टुक्राएर बेचेको आरोप लगाए।
उनले भने,‘राप्रपाका राजेन्द्र लिङ्देनले मलाई बैंक ठग भन्थे। अब उनलाई भनिदिनु १५ गते जुन धोका दियौं, अब जीवनमा तिमीले धोका दिन सक्दैनौं। तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेचेर भात खाने म होईन्। १५ गते राप्रपाले मिलेर छुरी हानेको छ, म बाँच्न सफल भएको मान्छे हुँ।’
त्यस्तै उनले राजनीतिक दल खोल्ने घोषणा समेत गरेका छन्। राजनीतिमा संलग्न हुने रहर पटक्कै नभएको भन्दै राजनीतिले बिगारेको सुधारका लागि राजनीतिमा संलग्न हुन आफू बाध्य भएको उनले बताए।
‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ। मुलुकको वर्तमान अवस्था देश र जनतामाथि भएको लुटपाटलाई टुलुटुलु हेरेर बस्न सक्दिन्। मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन्। राजनीतिमा संलग्न हुने रहर पटक्कै थिएन। राजनीतिले बिगारेको समाजलाई सुधार गर्नका लागि राजनीतिमा संलग्न हुन बाध्य भएका छौं। म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोलेर दलमा संलग्न हुने अठोट गरेका छौं। त्यसकारण राजनीतिक शक्ति निर्माणका लागि राजनीतिक दल गठन गर्ने निश्चय गरेको छु,’ उनले भने।
अभियान मात्र चलाउँदा कोठामा ताला लगाउने भएकाले संविधान अनुसार पार्टी खोल्न धेरैले सुझाव दिएको भन्दै अब केही समयमा नै दलको नाम सार्वजनिक गरिने उनले जानकारी दिए।
भदौ २, २०८२ सोमबार १६:२३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।